कला/साहित्य

नेपाली चलचित्र संगीतलाई अविस्मरणीय बनाउने आशा भोसलेका पाँच कालजयी नेपाली गीत

काठमाडौं । भारतीय उपमहाद्वीपकी प्रख्यात तथा दिग्गज गायिका आशा भोसलेको निधन भएको छ। मुम्बईस्थित क्याण्डी अस्पतालमा उपचारका क्रममा उनले अन्तिम सास लिएकी हुन्। सात दशकभन्दा लामो सांगीतिक यात्रामा १२ हजारभन्दा बढी गीत गाएकी भोसलेको स्वर अब भौतिक रूपमा सुन्न नपाइए पनि उनका गीतहरू सदाबहार रहनेछन्।

नेपाली संगीत क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय मानिन्छ। उनले गाएका नेपाली गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् र विभिन्न पुस्तामाझ विशेष स्थान राख्छन्।

यहाँ आशा भोसलेले स्वर दिएकी पाँच चर्चित नेपाली गीतहरूको चर्चा गरिएको छः

‘मोहनी लाग्ला है’
तुलसी घिमिरे निर्देशित चलचित्र चिनो को यो गीत आशा भोसले र नारायण गोपालको संयुक्त स्वरमा रहेको छ। शिव श्रेष्ठ र कृष्टि मैनालीको अभिनय रहेको यो गीतमा रञ्जित गजमेरको संगीत छ। नेपाली चलचित्र संगीतको स्वर्णिम सूचीमा यो गीत विशेष स्थानमा छ।

‘गैह्री खेतको शिरै हान्यो’
चलचित्र प्रेम पिण्ड मा समावेश यो कालजयी गीतमा आशा भोसलेको सुमधुर स्वर सुन्न पाइन्छ। यादव खरेलको शब्द र शम्भुजित बाँसकोटाको संगीत रहेको यो गीत २०५० सालतिर सार्वजनिक भएको थियो र आज पनि उत्तिकै लोकप्रिय छ।

‘आज हाम्रो भेट भाको दिन’
चलचित्र ज्वाला को यस गीतमा आशा भोसलेसहित उदित नारायण झा र साधना सरगमले स्वर दिएका छन्। शिलबहादुर मोक्तानको संगीत रहेको यस गीतमा राजेश हमाल, सरोज खनाल र सृजना श्रेष्ठको अभिनय देख्न सकिन्छ।

‘दियो बाली साँझको’
तिहार पर्वसँग जोडिएको यो गीतमा आशा भोसलेको विशेष स्वर छ। कुसुम गजमेरको शब्द र रञ्जित गजमेरको संगीतमा बनेको यो गीत नेपाली सांगीतिक संस्कृतिमा चाडपर्वको अभिन्न हिस्सा बनेको छ।

‘मेरो प्राणभन्दा प्यारो माइतीघर’
चलचित्र माइतीघर को यो भावनात्मक गीतमा आशा भोसलेको स्वर रहेको छ। किरण खरेलको शब्द र जयदेवको संगीतमा तयार भएको यो गीत आज पनि दर्शक तथा श्रोतामाझ उत्तिकै प्रिय मानिन्छ। नेपाली चलचित्र संगीतमा समेत आफ्नो अमिट छाप छोडेकी आशा भोसलेको योगदानलाई संगीतप्रेमीहरूले सधैं स्मरण गरिरहनेछन्।

आशा भोसले : संघर्षदेखि सफलताको शिखरसम्मको अविस्मरणीय यात्रा

काठमाडौँ । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ। लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित उनको मृत्यु मल्टिअर्गन फेलियरका कारण भएको चिकित्सकले बताएका छन्। परिवारका अनुसार अन्त्येष्टि सोमबार शिवाजी पार्कमा गरिनेछ। सन् १९३३ मा जन्मिएकी आशा भोसलेले आफ्नो करियरमा १४ भन्दा बढी भाषामा १२ हजारभन्दा बढी गीत गाएर विश्व संगीतमा अमिट छाप छोडेकी छन्। ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’, ‘चुरा लिया है तुमने’ जस्ता गीत आज पनि उत्तिकै लोकप्रिय छन्।

नौ वर्षकै उमेरमा पिताको निधन भएपछि आर्थिक संकटले थिचिएको परिवारलाई धान्न उनले दिदी लता मंगेशकरसँगै गायन सुरु गरेकी थिइन्। प्रारम्भमा उनलाई ठूलो सफलता सहजै मिलेन, बरु साना चलचित्र र अस्वीकार गरिएका गीतबाट यात्रा अघि बढाउनुपर्‍यो। करियरको सुरुआतमा आवाज कमजोर ठानिएको भए पनि उनले हार मानिनन्। ओपी नैयर, खय्याम र आरडी बर्मनजस्ता संगीतकारसँगको सहकार्यले उनको करियरलाई नयाँ उचाइमा पुर्‍यायो। ‘दिल चीज क्या है’ जस्ता गजलदेखि ‘दम मारो दम’ जस्ता आधुनिक शैलीका गीतसम्म उनले बहुआयामिक गायन क्षमता देखाइन्।

व्यक्तिगत जीवन पनि उतारचढावपूर्ण रह्यो। १६ वर्षको उमेरमा भागी विवाह गरेकी उनले पछि घरेलु हिंसा र सम्बन्धविच्छेदको पीडा भोग्नुपर्‍यो। सन् १९८० मा संगीतकार आरडी बर्मनसँग दोस्रो विवाह गरेपछि उनको जीवनमा स्थायित्व आएको मानिन्छ। लता मंगेशकरसँगको प्रारम्भिक प्रतिस्पर्धा र पछि सहकार्यले भारतीय संगीतमा दुई दिदीबहिनीको अद्वितीय योगदान स्थापित गर्‍यो। आशा भोसलेको स्वरले भारतीय चलचित्र संगीतलाई मात्र होइन, विश्व संगीतलाई पनि नयाँ पहिचान दिलायो। सात दशक लामो सांगीतिक यात्रामा उनले पाएको सफलता केवल प्रतिभाको मात्र होइन, अथक संघर्ष, धैर्य र निरन्तर साधनाको परिणाम हो। उनका कालजयी गीतहरूमार्फत आशा भोसले सधैं संगीतप्रेमीहरूको हृदयमा जीवित रहनेछिन्।

आशा भोसले : नेपाली संगीतप्रतिको स्नेह र अमर योगदान

भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको निधनसँगै विश्व संगीतले एक युग गुमाएको छ। सात दशकभन्दा लामो सांगीतिक यात्रामा उनले नेपाली संगीतसँग समेत गहिरो सम्बन्ध गाँसेकी थिइन्। नेपाली फिल्म र गीतमा स्वर दिँदै उनले यहाँको संगीतलाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्न महत्वपूर्ण भूमिका खेलेकी थिइन्। नेपाली संगीतप्रति उनको विशेष लगाव थियो। तुलसी घिमिरेका अनुसार उनी नेपाली गीत गाउन सधैं उत्साहित हुन्थिन् र नेपाललाई सांस्कृतिक रूपमा नजिकको देशका रूपमा हेर्थिन्। नारायणगोपाल उनको मनपर्ने नेपाली गायक थिए। उनले ‘मोहनी लाग्ला है’, ‘गैरी खेतको शिरै हान्यो’, ‘आज हाम्रो भेट भएको दिन’, ‘दियो बाली साँझको’ लगायत थुप्रै लोकप्रिय नेपाली गीतमा स्वर दिएकी छन्।

उनको आवाजले नेपाली फिल्म संगीतलाई नयाँ उचाइ दिएको मानिन्छ। रञ्जित गजमेर, शम्भुजीत बासकोटा, जयदेव, किरण खरेललगायत संगीतकारसँगको सहकार्यले नेपाली संगीतमा भारतीय गायन शैली र नयाँपनको संयोजन गर्‍यो। त्यसले नेपाली पाश्र्वगायनलाई फरक पहिचान दिलायो।  सन् १९३३ मा जन्मिएकी भोसलेले प्रारम्भिक जीवनमै पिताको निधनपछि संघर्षको यात्रा सुरु गरिन्। दिदी लता मंगेशकरसँगै गायन सुरु गरेकी उनले बी-ग्रेड फिल्मदेखि मुख्यधारासम्म आफ्नो स्थान बनाइन्। ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ जस्ता गीतले उनलाई विश्वभर चिनायो।

उनको गायन शैली शास्त्रीयदेखि पप, गजलदेखि आधुनिकसम्म फैलिएको थियो। नेपाली गीतमा पनि प्रेम, प्रकृति र भावनालाई उनले सरल तर प्रभावशाली ढंगले प्रस्तुत गरेकी छन्। भोसले केवल भारतीय गायिका मात्र नभई दक्षिण एसियाली संगीतलाई विश्वमञ्चमा पुर्‍याउने सेतु पनि थिइन्। नेपाली संगीतप्रतिको उनको माया, सहकार्य र योगदानले उनलाई नेपालमा पनि सदैव स्मरणीय बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *