काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया आगामी वैशाख २ गतेदेखि औपचारिक रूपमा अघि बढाउने भएको छ। निर्वाचन समितिका अनुसार वैशाख ३ गतेसम्म सहमतिको प्रयास गरिने र सहमति नजुटे वैशाख ४ गते मतदानमार्फत नयाँ नेता चयन गरिनेछ।
निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले प्रक्रिया सुरु गर्ने मिति तय भइसकेको जानकारी दिँदै सहमतिको सम्भावनालाई प्राथमिकतामा राखिने बताए। उनका अनुसार, “वैशाख २ गते बैठक बसेर प्रक्रिया सुरु गर्छौं, ३ गते सहमतिका लागि समय दिइन्छ र आवश्यक परे ४ गते मतदान हुन्छ।” प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद रहेका छन्, जसमा १८ जना प्रत्यक्ष र २० जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्।
दलको नेतृत्वका लागि हाल चार नेताले आकांक्षा व्यक्त गरेका छन्। अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले नेतृत्वमा दाबी गरेका छन्। तीमध्ये केसी र आङ्देम्बेले सार्वजनिक रूपमा नै आफ्नो दाबी प्रस्तुत गरिसकेका छन्।निर्वाचन समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्यका रूपमा रहेका छन्। सहमतिमा नेतृत्व टुंगो नलागे मतदान प्रक्रियाबाट दलको नेता चयन हुने कांग्रेसले जनाएको छ।




