काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम दाङको भालुवाङमा सुरु गरेको छ। फागुन २१ गते सम्पन्न निर्वाचनको नतिजा र त्यसपछि देखिएका पार्टीगत कमजोरीहरूको मूल्यांकन गर्ने उद्देश्यसहित शीर्ष नेताहरूको सहभागितामा कार्यक्रम अघि बढाइएको हो।
कार्यक्रममा पार्टी सभापति गगन थापा, उपसभापतिहरू विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीहरू योगेन्द्र चौधरी र डिला संग्रौलालगायत शीर्ष नेताहरू सहभागी छन्।
लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति पदाधिकारी, १२ जिल्लाका सभापति, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा निर्वाचनको समग्र समीक्षासँगै पार्टीको आगामी दिशा तय गर्ने विषयमा छलफल भइरहेको छ।
प्रदेश सभापति अमर सिंह पुन का अनुसार कार्यक्रम अन्तर्गत ‘अबको कांग्रेस’ शीर्षकमा विशेष अन्तरसंवाद समेत सञ्चालन गरिनेछ। पार्टीभित्रको संगठनात्मक कमजोरी र चुनावी रणनीतिबारे गम्भीर छलफल भइरहेको उनले बताए।
यसैबीच, निर्वाचनमा देखिएको पराजयको प्रमुख कारणमध्ये एक अन्तर्घात भएको निष्कर्ष निकाल्दै पार्टीभित्र कडाइ गर्नुपर्ने आवाज पनि बलियो बनेको छ। कपिलवस्तु, पाल्पा, नवलपरासी लगायतका जिल्लामा अन्तर्घात गरेको आरोपमा केही नेतामाथि कारबाही भइसकेको र थप कारबाहीको माग बढेको छ।
उम्मेदवार तथा स्थानीय नेताहरूले निर्वाचनमा आन्तरिक असहयोग र संगठनभित्रको अविश्वासले परिणाम प्रभावित भएको भन्दै दोषीमाथि कडा कारबाही गर्न नेतृत्वसँग जोडदार माग गरेका छन्। उनीहरूका अनुसार बाह्य कारणसँगै आन्तरिक कमजोरी पनि हारको मुख्य कारण बनेको हो।




