काठमाडौँ । वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा पाइने जडीबुटी तथा वनस्पतिक सम्पदाबाट औषधीय उत्पादनको विशाल सम्भावना रहेको बताउँदै यस क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएकी छन्। वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अनुसन्धानमा सीमित उपलब्धिलाई अब व्यावसायिक उत्पादनसँग जोड्नुपर्ने समय आएको उल्लेख गरिन्।
उनले विभागले विकास गरेका विभिन्न औषधीय फर्मुलालाई सरकारी र निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगस्तरमा उत्पादन गर्न सकिने बताइन्। यसबाट राजस्व वृद्धि, स्वदेशमै उद्योग स्थापना तथा रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो। मन्त्री चौधरीले नेपालमा जडीबुटीको सम्भावना ठूलो भए पनि अझै प्रारम्भिक अध्ययनमै सीमित रहेको स्वीकार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण निर्माण गर्न निर्देशन दिइन्। उनका अनुसार यसले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाइमा पुर्याउन मद्दत गर्नेछ।
अनुसन्धानमूलक उपलब्धिलाई व्यवहारमा रूपान्तरण गर्न ढिलाइ गर्न नहुने बताउँदै उनले वैज्ञानिक र अनुसन्धानकर्तालाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उल्लेख गरिन्। निजी क्षेत्रलाई आकर्षित गर्ने, अनुसन्धानलाई प्रवर्द्धन गर्ने तथा युवालाई वनस्पति विज्ञान, जैविक अनुसन्धान र नवप्रवर्द्धनतर्फ उन्मुख गराउने सरकारको लक्ष्य रहेको पनि उनले स्पष्ट पारिन्।
उनले जडीबुटी क्षेत्रले ग्रामीण गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरिन्। यस क्षेत्रको विकासका लागि आवश्यक नीति, ऐन तथा कानुनी सुधार गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।
यसैबीच, वनस्पति विभागले नेपालका वानस्पतिक सम्पदाको वैज्ञानिक अभिलेखीकरण गर्दै ‘वृहत् नेपाल फ्लोरा’ प्रकाशनको तयारी गरिरहेको जनाएको छ। हालसम्म ६ सय ५८ प्रजातिका वनस्पति अभिलेखीकरण सम्पन्न भइसकेको जानकारी दिइएको छ। कार्यक्रममा वनस्पति स्रोत संरक्षण र विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।




