काठमाडौं । इन्धन खपत न्यूनीकरण गर्दै सम्भावित आपूर्ति संकटलाई मध्यनजर गरी काठमाडौं महानगरपालिकाले आफ्ना पदाधिकारी र कर्मचारीका लागि ‘कार पुलिङ्ग’ प्रणाली कार्यान्वयनमा ल्याएको छ। महानगरले एउटै मार्ग वा नजिकको बसोबास क्षेत्रबाट कार्यालय आउने–जाने कर्मचारी तथा पदाधिकारीलाई समूहमा आबद्ध गरी एउटै सवारीसाधन आलोपालो प्रयोग गर्ने व्यवस्था सुरु गरेको जनाएको छ। यस व्यवस्थाअनुसार समूहका सदस्यले पालैपालो आफ्नो सवारीसाधन प्रयोग गरी सहकर्मीलाई समेत कार्यालय ल्याउने–लाने गर्नेछन्।
कार्यवाहक मेयर सुनिता डंगोल ले विश्वव्यापी इन्धन अभावको प्रभाव स्थानीय तहसम्म पर्न सक्ने भएकाले पूर्वतयारीस्वरूप यस्तो प्रणाली लागू गरिएको बताइन्। उनका अनुसार अत्यावश्यक सेवा र कामका लागि इन्धनको सुनिश्चितता कायम राख्न अनावश्यक सवारी प्रयोग घटाउनु अहिलेको आवश्यकता हो। उनले इन्धनको सम्भावित संकटलाई व्यवस्थापन गर्न खर्च कटौती र स्रोतको प्रभावकारी उपयोग आवश्यक रहेको उल्लेख गर्दै महानगरले त्यसैअनुसार व्यवहारिक कदम चालेको स्पष्ट पारिन्।
महानगरका अनुसार यो प्रणालीबाट कार्यालय आउने–जाने सवारीको संख्या उल्लेख्य रूपमा घट्ने, ट्राफिक चाप कम हुने र इन्धन बचतमा प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै यसले वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।




