नेपालको राजनीतिक इतिहासमा पुराना दलहरूको भूमिका असाधारण रहँदै आएको छ। लोकतान्त्रिक आन्दोलन, जनअधिकारको स्थापना, संविधान निर्माणदेखि संघीय व्यवस्थाको संस्थागत विकाससम्म नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत पुराना दलहरूले महत्वपूर्ण योगदान दिएका छन्। तर पछिल्ला केही वर्षयता जनतामा देखिएको निराशा, नेतृत्वप्रतिको अविश्वास र नयाँ शक्तिप्रतिको आकर्षणले यी दलहरूको राजनीतिक विरासत चुनौतीमा परेको छ। गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गत फागुन २१ मा भएको संसदीय निर्वाचनपछि रास्वपाको उदय भएको छ । बालेन नेतृत्वको सरकार गठन भएको छ । पुराना दलको सहभागिता संघीय संसदमा सामान्य छ । पुराना राजनैतिक दलहरुलाई यो सचिने मौका हो ।
यही परिवेशमा आगामी स्थानीय निर्वाचन पुराना राजनीतिक दलहरूका लागि आफ्नो विरासत जोगाउने मात्र होइन, जनविश्वास पुनःस्थापित गर्ने सबैभन्दा ठूलो अवसर बनेर आएको छ। स्थानीय तह नै जनतासँग प्रत्यक्ष जोडिने सबैभन्दा नजिकको सरकार भएकाले यहाँको परिणामले राष्ट्रिय राजनीतिमा समेत गहिरो प्रभाव पार्छ।
स्थानीय निर्वाचनमा मतदाताले राष्ट्रिय नारा भन्दा बढी दैनिक जीवनसँग जोडिएका मुद्दा हेर्छन्—सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सुशासन र सेवा प्रवाह। यही कारण पुराना दलहरूले आफ्नो ऐतिहासिक योगदानको स्मरण मात्र गरेर मत पाउने अवस्था अब छैन। उनीहरूले विगतको विरासतलाई वर्तमानको कार्यसम्पादनसँग जोडेर देखाउनुपर्छ।
पछिल्लो स्थानीय निर्वाचनले स्पष्ट सन्देश दिएको थियो कि मतदाता अब केवल पार्टीको झण्डा होइन, उम्मेदवारको कार्यक्षमता, इमान्दारिता र परिणाममुखी नेतृत्व हेर्न थालेका छन्। यही कारण स्वतन्त्र उम्मेदवार र नयाँ दलले उल्लेख्य सफलता पाए। पुराना दलहरूका लागि यो चेतावनी पनि हो र सुधारको अवसर पनि।
स्थानीय निर्वाचन जित्ने आधार चुनावी घोषणापत्र मात्र होइन, चुनावअघिको कम्तीमा एक वर्षको निरन्तर संगठनात्मक र जनसम्पर्क अभ्यास हो। पुराना दलहरूले अबदेखि नै वडा, टोल, गाउँ र नगर तहसम्म आफ्नो संगठन पुनःसक्रिय बनाउनुपर्छ। निष्क्रिय कमिटीहरू चलायमान बनाउने, युवापुस्तालाई जिम्मेवारी दिने, स्थानीय मुद्दा पहिचान गर्ने र समाधानमुखी कार्यक्रम अघि बढाउने समय यही हो।
एक वर्षको अवधिमा दलहरूले संगठन सुदृढीकरण,नयाँ नेतृत्व उत्पादन,जनसम्पर्क विस्तार,कार्यसम्पादन देखिने बनाउने,विरासतलाई परिणामसँग जोड्ने,विरासत जोगाउने सूत्रका रुपमा सुधार र आत्मसमीक्षालाई मुख्य आधार बनाउन आवश्यक छ
पुराना दलहरूको सबैभन्दा ठूलो बल उनीहरूको इतिहास हो, तर कमजोर पक्ष आत्मसन्तुष्टि र गुटगत राजनीति बनेको छ। यदि यही प्रवृत्ति दोहोरियो भने स्थानीय निर्वाचनमा विरासत थप खुम्चिन सक्छ। त्यसैले अब आत्मसमीक्षा, नेतृत्वमा पुस्तान्तरण, सुशासन र स्थानीय मुद्दामा केन्द्रित राजनीति अपरिहार्य बनेको छ।
स्थानीय तहमा जनताले पार्टीभन्दा बढी व्यवहार र परिणाम हेर्छन्। त्यसैले पुराना दलहरूले “हामीले इतिहास बनायौँ” भन्ने भाषणभन्दा “हामीले आज के गर्यौँ” भन्ने प्रमाण दिनुपर्छ। यही प्रमाणले मात्रै विरासत जोगाउँछ।
आगामी स्थानीय निर्वाचन पुराना राजनीतिक दलहरूका लागि अस्तित्व, विरासत र भविष्यको परीक्षण हो। यो केवल चुनाव जित्ने प्रतिस्पर्धा होइन, जनतासँग पुनः सम्बन्ध जोड्ने अवसर पनि हो। यदि अबको एक वर्ष संगठन, जनसम्पर्क, सुशासन र नयाँ नेतृत्व निर्माणमा बलियो कसरत गर्न सकियो भने पुराना दलहरूले आफ्नो विरासत मात्र जोगाउने होइन, नयाँ राजनीतिक उचाइ पनि हासिल गर्न सक्छन्। समयमै सुधार, सही उम्मेदवार र परिणाममुखी राजनीति नै पुराना दलको विरासत बचाउने मुख्य सूत्र हो।




