देश

शान्ति, ऐक्यबद्धता र बहुपक्षीय सहयोगमा नेपालको पुनः दृढ प्रतिबद्धता

काठमाडौं । नेपालले विश्व समुदायसमक्ष बहुपक्षीयता, अन्तरराष्ट्रिय सहकार्य र ऐक्यबद्धताप्रति आफ्नो अटल प्रतिबद्धता पुनः दोहोर्‍याएको छ। संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर विश्वले सामना गरिरहेका जटिल चुनौतीहरूको समाधान बहुपक्षीय सहकार्यबाट मात्रै सम्भव हुने नेपालले स्पष्ट पारेको छ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा आयोजित २६३औँ नेपाली सेना दिवस तथा राष्ट्रसङ्घीय शान्ति मिसनमार्फत द्वन्द्वग्रस्त मुलुकहरूमा नेपालले ६८ वर्षदेखि पुर्‍याउँदै आएको योगदानको अवसरमा आयोजित विशेष स्वागत समारोहमा नेपालले यस्तो धारणा राखेको हो। कार्यक्रम संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आयोजना गरेको थियो।

समारोहलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपाली सेनाको गौरवशाली इतिहास, अनुशासन र अन्तरराष्ट्रिय शान्ति स्थापनामा खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो। उहाँले नेपाली सेनाले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र सुरक्षाको रक्षा गर्नुका साथै विश्व शान्तिका लागि पनि उल्लेखनीय योगदान दिँदै आएको बताए

राजदूत थापाका अनुसार हालसम्म एक लाख ६० हजारभन्दा बढी नेपाली शान्ति सैनिक विभिन्न राष्ट्रसङ्घीय शान्ति मिसनमा खटिइसकेका छन्। उहाँले नेपालले विगतदेखि नै बहुपक्षीय सहयोग र अन्तरराष्ट्रिय एकतामा विश्वास गर्दै आफ्नो भूमिका निरन्तर मजबुत बनाउँदै आएको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रसङ्घका उपमहासचिव जिन पियर लाक्रोँले नेपाली शान्ति सैनिकहरूको समर्पण, दक्षता र व्यावसायिकताको उच्च प्रशंसा गर्दै विश्व शान्ति स्थापनामा उनीहरूको भूमिकाप्रति विशेष आभार व्यक्त गरे ।

उक्त अवसरमा विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, सैन्य तथा प्रहरी सल्लाहकार, राष्ट्रसङ्घका उच्च अधिकारी, नेपालका मित्रराष्ट्रका प्रतिनिधि तथा पूर्वसैनिक अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *