देश

इस्लामाबाद वार्ता निष्कर्षविहीन: पाकिस्तानले अमेरिका–इरान संवादमा मध्यस्थता जारी राख्ने

काठमाडौं । अमेरिका र इरानबीच पाकिस्तानको पहलमा भएको उच्चस्तरीय वार्ता निष्कर्षमा पुग्न नसकेपछि पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निरन्तर राख्ने जनाएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार सुरु भएको वार्ता आइतबार बिहानसम्म चले पनि कुनै सहमति हुन सकेन। वार्ता असफल भएपछि अमेरिकी उपराष्ट्रपति JD Vance आफ्नो टोलीसहित स्वदेश फर्किएका छन्।

यसबीच पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री Ishaq Dar ले पत्रकार सम्मेलन गर्दै अमेरिका र इरानबीच सहमति गराउन प्रयास जारी रहने स्पष्ट पारे। उनले दुवै पक्षबीच कठिन तर अर्थपूर्ण छलफल भएको उल्लेख गर्दै भविष्यमा सकारात्मक परिणाम आउने आशा व्यक्त गरे। उनका अनुसार, पाकिस्तानले वार्तालाई निरन्तरता दिन र दुवै देशबीच संवादको वातावरण बनाउन पहल जारी राख्नेछ। “दिगो शान्ति र स्थायित्वका लागि दुवै पक्षले सकारात्मक सोचका साथ वार्ता अघि बढाउने अपेक्षा गरेका छौं,” उनले भने।

वार्तापछि प्रतिक्रिया दिँदै अमेरिकी पक्षले इरानले राखिएका सर्त स्वीकार नगरेका कारण सहमति हुन नसकेको जनाएको छ। अमेरिकी धारणा अनुसार, सम्भावित सम्झौताका लागि इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउनुपर्ने थियो। उता, इरानले पनि अमेरिकाले अत्यन्त कडा सर्त अघि सारेकाले सम्झौता सम्भव नभएको जनाएको छ।

दुई देशबीच पछिल्लो समय बढ्दो तनाव र क्षेत्रीय द्वन्द्वका बीच युद्धविरामपछि स्थायी समाधान खोज्ने प्रयासस्वरूप यो वार्ता आयोजना गरिएको थियो। तर, वार्ताअघि नै विभिन्न विषयमा मतभेद कायम रहेकाले सहमति जुट्न सकेन।यस अवस्थाबीच पाकिस्तानले संवादको ढोका खुला राख्दै मध्यस्थताको भूमिका निरन्तर निभाउने प्रतिबद्धता दोहोर्याएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *