देश

जनशक्ति अभाव देखाउँदै चिकित्सक संघको अडान, आइतबार ओपीडी सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार ओपीडी सेवा सञ्चालन गर्न असमर्थ हुने स्पष्ट पारेको छ। जनशक्ति अभावका कारण नियमित सेवा दिन कठिन भएको भन्दै संघले यस्तो निर्णय सार्वजनिक गरेको हो।

संघका महासचिव डा। सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा अस्पतालहरूमा आवश्यक जनशक्ति थप नगरिएको अवस्थामा सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन सम्भव नभएको उल्लेख गरिएको छ। अस्पतालहरूको कार्यभार बढ्दो रहे पनि सोअनुसार कर्मचारी व्यवस्थापन नभएकाले सेवा प्रभावित हुने चेतावनी दिइएको छ।

यसअघि सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि स्वास्थ्य संस्थाहरूले सोहीअनुसार तालिका मिलाएका थिए। तर बिरामीको सहजताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि सबै सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो।

मन्त्रालयको उक्त निर्देशनप्रति ध्यानाकर्षण गराउँदै चिकित्सक संघले पर्याप्त जनशक्ति व्यवस्थापन नगरेसम्म आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने अडान दोहोर्‍याएको छ। संघले यस्तो अवस्थामा सेवा दिन खोज्दा गुणस्तरमा असर पर्ने र स्वास्थ्य सेवा प्रवाह नै कमजोर हुने जोखिम रहेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *