राजनीति

खुस्बु ओलीको व्यंग्य : संसद्मा ‘नयाँ–पुरानो’ बहस चर्कियो, छुट्टै लोगो बनाऔँ

काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘नयाँ’ र ‘पुरानो’ राजनीतिक दलबीचको बहस चर्किँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले व्यंग्यात्मक शैलीमा सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले दलहरूको पहिचान छुट्याउन संसद्मै छुट्टै लोगो बनाउनुपर्ने टिप्पणी गरिन्। उपसभामुख निर्वाचनको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम संस्कृतिलाई समर्थन गरेपछि असन्तुष्टि जनाउँदै ओलीले यस्तो अभिव्यक्ति दिएकी हुन्। उनले व्यंग्य गर्दै संसद्मा अहिलेको लोगो पर्याप्त नभएको र ‘नयाँ’ तथा ‘पुरानो’ छुट्याउने अर्को लोगो आवश्यक देखिएको बताइन्।

बैठकमा बोल्दै उनले चुनावअघि उठेको ‘नयाँले नयाँलाई साथ दिने कि पुरानालाई’ भन्ने बहस स्मरण गराउँदै आफूलाई नै नयाँ वा पुरानो कुन श्रेणीमा राख्ने भनेर प्रश्न उठाइन्। उनले आफू अघिल्लो निर्वाचनदेखि नै सक्रिय रहेको उल्लेख गर्दै यस्तो वर्गीकरणको आधार स्पष्ट पार्न आग्रह गरिन्। ओलीले पहिले ‘सिन्डिकेट’ संस्कारको विरोध गर्दै नयाँ राजनीतिक अभ्यास सुरु गरिएको दाबी गरिन्। तर अहिले फेरि त्यस्तै प्रवृत्ति दोहोरिन खोजिएको संकेत गर्दै उनले संसद्ले नै नयाँ प्रकारको सिन्डिकेट निर्माण गर्न लागेको हो भने त्यसको पहिचानका लागि छुट्टै लोगो बनाउनुपर्ने तर्क राखिन्।

उनले केही नेताहरू पहिले अन्य दलमा रहेर अहिले नयाँको रूपमा प्रस्तुत भइरहेको भन्दै ‘नयाँ’ भन्ने परिभाषामाथि नै प्रश्न उठाइन्। विचार र व्यवहारमा नवीनता हुनुपर्नेमा जोड दिँदै उनले राजनीतिक संस्कार सुधारको आवश्यकता औंल्याइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *