काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले उपसभामुख पदको निर्वाचनलाई लिएर संसद्भित्र स्पष्ट रूपमा दुई धार देखिएको बताएका छन्। उनले यस प्रक्रियाले राष्ट्रहित र बाह्य प्रभावबीचको विभाजन उजागर गरेको टिप्पणी गरे। प्रतिनिधिसभा बैठकमा उपसभामुख पदका लागि सरस्वती लामाको प्रस्ताव प्रस्तुत गर्दै शाहीले आफ्नो पार्टीको उम्मेदवारीले राजनीतिक ‘कित्ताकाट’ स्पष्ट बनाएको दाबी गरे। उनका अनुसार फरक–फरक पहिचान बोकेका पुराना र नयाँ दलहरू अन्ततः एउटै धारमा उभिएको अवस्था देखिएको छ।
उपसभामुख चयनअघि भएको छलफलमा राप्रपालाई बेवास्ता गरिएको आरोप लगाउँदै उनले प्रारम्भिक चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट समर्थनको संकेत पाएपछि मात्रै उम्मेदवारी अघि बढाएको बताए। तर पछि उक्त प्रतिबद्धता कायम नरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
शाहीले संसद्मा संख्या मात्र निर्णायक नहुने धारणा राख्दै भूमिकालाई प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार संख्याको खेलले सत्ता जोगाउने काम मात्रै गर्छ, तर संसद्को वास्तविक अर्थ प्रभावकारी भूमिका निर्वाहमा निहित हुन्छ। उनुसार उपसभामुख निर्वाचनको घटनाक्रमले नेपाली राजनीतिमा देखिने र नदेखिने शक्ति संरचनाबीचको सम्बन्धलाई थप उजागर गरेको छ।




