राजनीति

देश विकासका लागि उत्साहित र अवसरयुक्त वातावरण आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निराश जनशक्तिबाट कुनै पनि देशको विकास सम्भव नहुने बताएका छन्। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले देश विकासका लागि उत्साहित र अवसरयुक्त वातावरण आवश्यक रहेकोमा जोड दिए। उनले युवा पुस्तालाई आफ्नै देशमै रोक्ने गरी नीति निर्माण र रोजगारी सिर्जनामा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

राष्ट्रपति पौडेलले हालै सम्पन्न निर्वाचनमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गर्दै निर्वाचनले नयाँ पुस्तालाई राजनीतिक प्रक्रियामा थप आकर्षित गरेको बताए। उनले जनताको अपेक्षा अब प्रभावकारी सेवा प्रवाह, विधिको शासन, रोजगारी र आर्थिक–सामाजिक स्थायित्वतर्फ केन्द्रित रहेको उल्लेख गरे।

नयाँ संसद्प्रति विश्वास व्यक्त गर्दै उनले आवश्यक कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरे। साथै न्यायपालिकाबाट निष्पक्ष र प्रभावकारी न्याय सम्पादन भए मात्र सहिदहरूको बलिदानको सम्मान हुने उनले बताए। राष्ट्रपतिले संविधान कार्यान्वयनको क्रममा महत्वपूर्ण उपलब्धि भए पनि जनताको अपेक्षाअनुसार धेरै काम बाँकी रहेको स्पष्ट पारे। उनले सरकारी सेवा प्रवाहलाई चुस्त बनाउन र नागरिकको निराशा घटाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

त्यसैगरी, उनले परराष्ट्र सम्बन्धलाई सन्तुलित र राष्ट्रिय हितअनुकूल बनाउनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *