काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सँगको सम्बन्धमा कुनै धोका नभएको स्पष्ट पारेका छन्। सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले राप्रपालाई धोका दिएको भन्ने आरोप अस्वीकार गरे। उनले राजनीतिक संवाद र सहकार्यका अवसरहरू अझै धेरै बाँकी रहेको उल्लेख गरे।
उपसभामुख निर्वाचनका क्रममा रास्वपाबाट अपेक्षित समर्थन नपाएको भन्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले असन्तुष्टि व्यक्त गरेपछि यसबारे प्रतिक्रिया दिँदै लामिछानेले यस्तो बताएका हुन्। उनले राजनीतिक निर्णयहरू विभिन्न परिस्थितिमा आधारित हुने भन्दै सबै दलसँग संवाद निरन्तर रहने बताए। “धोका भन्दा पनि कहिलेकाहीँ अन्तिम समयमा सही निर्णय लिनुपर्ने अवस्था आउँछ, त्यसमा अन्य कारणहरूले पनि प्रभाव पार्न सक्छन्,” उनले भने।
लामिछानेले शाहीलाई आफ्नो निकट साथीका रूपमा उल्लेख गर्दै भविष्यमा पनि राजनीतिक सहकार्यका प्रशस्त सम्भावना रहेको बताए। “उहाँ मेरो राम्रो साथी हुनुहुन्छ, सहकार्य गर्ने अवसरहरू धेरै आउँछन्,” उनले भने।




