देश

रोशी–पनौतीमा अवैध उत्खननमाथि कडाइ, क्रसर उद्योग बन्द गर्न निर्देशन

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशीखोला र पनौती आसपास क्षेत्रमा सञ्चालनमा रहेका क्रसर तथा ढुङ्गा खानी उद्योगमाथि सरकार कडा रूपमा प्रस्तुत भएको छ। गृहमन्त्री सुधन गुरुङले अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भइरहेका सबै क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्। गत वर्षको बाढीपहिरोले बीपी राजमार्ग आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि रोशी क्षेत्रमा पुगेर गरिएको अनुगमनमा उनले अवैध रूपमा भइरहेको गिट्टी–बालुवा उत्खननप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार यस्ता गतिविधिले प्राकृतिक विपत्तिको जोखिम झन् बढाएको छ।

विगतमा ठेक्का प्रणालीमा मिलेमतो गरेर अवैध उत्खनन चलाइएको उल्लेख गर्दै उनले अब यस्ता कार्य कडाइका साथ नियन्त्रण गरिने र वैध तथा अवैध दुवै प्रकारका उद्योगको छानबिन गरिने स्पष्ट पारे। अनियन्त्रित रूपमा प्राकृतिक स्रोत दोहन हुँदा जनधनमा ठूलो क्षति पुगेकोतर्फ संकेत गर्दै उनले पनौती क्षेत्रमा गएको बाढीपहिरोमा २० जनाको ज्यान गएको, एक जना बेपत्ता भएको र सयौँ घरमा क्षति पुगेको स्मरण गराए। यसैबीच, अत्यधिक वर्षाका कारण रोशी नदी आसपासका क्षेत्र—विशेषगरी भूमिडाँडादेखि नेपालथोकसम्म—गम्भीर रूपमा प्रभावित भएका थिए। २४ घण्टामा ३३१।६ मिलिमिटर वर्षा भएको घटनाले नयाँ रेकर्डसमेत कायम गरेको थियो।

स्थानीय बासिन्दाले भने विनाशको प्रमुख कारण प्राकृतिक मात्र नभई नदी किनारमै गरिएको अवैध उत्खननलाई मानेका छन्। नदीछेउमै गिट्टी–बालुवा थुपार्ने, खानीबाट निस्किएको माटो सिधै खोलामा फाल्ने जस्ता क्रियाकलापले नदीको बहाव अव्यवस्थित बनेको र बाढीको प्रभाव झन् तीव्र भएको उनीहरूको भनाइ छ। अध्ययनअनुसार काभ्रेपलाञ्चोक जिल्लाभर दर्जनौँ खानी तथा क्रसर उद्योग सञ्चालनमा छन्, जसमा धेरैजसोले कानुनी तथा वातावरणीय मापदण्ड पालना नगरेको देखिएको छ। विशेषगरी रोशी र पनौती क्षेत्रमा यस्ता उद्योगको अत्यधिक चाप रहेको पाइएको छ। सरकारले अब यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्दै सम्भावित विपत्तिको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी सुदृढ गर्न निर्देशन दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *