काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन। आन्तरिक सहमति जुटाउने प्रयासकै बीच प्रक्रिया लम्बिँदै गएको हो। सभापति गगनकुमार थापाले सर्वसम्मत रूपमा नेता चयन गर्ने रणनीति अपनाएपछि प्रतिस्पर्धी आकांक्षीहरूबीच सहमति जुट्न नसक्दा निर्णयमा ढिलाइ भएको बताइएको छ। विशेषगरी अर्जुननरसिंह केसी र मोहन आचार्यबीचको प्रतिस्पर्धाले परिस्थिति जटिल बनेको देखिन्छ।
दलको नेता चयनका लागि २४ चैतमा निर्वाचन समिति गठन गरिए पनि निर्धारित कार्यतालिका अनुसार प्रक्रिया अघि बढ्न सकेन। सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को संयोजकत्वमा समिति बनेको भए पनि सहमतिका प्रयास जारी राख्दै निर्वाचन कार्यक्रम स्थगित गरिएको स्रोतको भनाइ छ।
कांग्रेसभित्र केसीलाई सर्वसम्मत रूपमा अघि सार्ने वा प्रतिस्पर्धाबाट टुंगो लगाउने भन्ने विषयमै मतभेद देखिएको छ। केही नेताहरू केसीलाई समर्थन गर्न सकारात्मक देखिए पनि शीर्ष नेतृत्व भने विकल्प खोज्ने पक्षमा रहेको बताइन्छ।
यस्तै, सभापति थापाले मोहन आचार्यलाई अघि सार्न चाहेको चर्चा भए पनि उनको पक्षमा सर्वसम्मति जुटाउने चुनौती देखिएको छ। यसले नेतृत्व चयन प्रक्रिया थप जटिल बनाएको छ। दलभित्र संस्थापन र इतर समूहबीचको आन्तरिक समीकरण पनि यस ढिलाइको प्रमुख कारण मानिएको छ। विभिन्न समूहबीच समर्थनको गणित मिलाउन नसक्दा निर्णय प्रक्रिया प्रभावित भएको देखिन्छ।
कांग्रेसको इतिहास हेर्दा संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन हुने परम्परा कमजोर रहँदै आएको छ। त्यसैले यसपटक पनि अन्ततः मतदान प्रक्रियामार्फत नेता चयन हुने सम्भावना बलियो बन्दै गएको नेताहरूको भनाइ छ। पार्टीभित्र जारी छलफलले चैतभित्रै निष्कर्ष दिने अपेक्षा गरिए पनि सहमति जुट्न नसके प्रतिस्पर्धात्मक निर्वाचन अपरिहार्य बन्ने संकेत देखिएको छ।
दलका वरिष्ठ सांसद अर्जुननरसिंह केसीले सहमतिमा नेता चयन हुने बताए। उनका निकट नेताहरूका अनुसार चुनावमा परेपछि पछि नहट्ने र सहमति भए दाबी नगर्ने मनस्थितिमा केसी छन्। समानुपातिकतर्फ केसी र भीष्मराज आङ्देम्बे, प्रत्यक्षतर्फ मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी लगायतका सांसद आकांक्षीका रूपमा रहेका छन्।
पार्टी शीर्ष नेतृत्वले सहमति जुटाउन समय लिएको जानकारी महामन्त्री प्रदीप पौडेलले दिए। “सहमतिको लागि समय लिएका हौँ, अब छिट्टै चयन हुन्छ,” उनले भने। संस्थापन र संस्थापनइतर समूहबीचको समीकरणले पनि ढिलाइ बढाएको देखिन्छ। नयाँ सांसदलाई अघि सार्ने विकल्प भए पनि वरिष्ठ नेताहरूको असहमति र पार्टी भित्रको वरीयता विवादले निर्णायक कदममा असर पारेको छ। कांग्रेसले २४ चैतभित्र संसदीय दलको नेता चयन गर्ने तयारीमा रहेको छ। सहमतिमा चयन भए, समानुपातिकतर्फ आङ्देम्बे र प्रत्यक्षतर्फ आचार्यको सम्भावना उच्च छ।




