देश

पदीय दुरुपयोगको आरोपपछि श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थ्य मन्त्रीलाई चेतावनी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को औपचारिक सिफारिसपछि प्रधानमन्त्री शाहले साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेले श्रममन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको ठहर गर्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए । साहले मन्त्री पदमा रहँदा आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको विषय सार्वजनिक भएपछि विवाद चुलिएको हो।

यसअघि बुधबार रास्वपाको केन्द्रीय अनुशासन आयोगले घटनाबारे विस्तृत अध्ययनपछि साहमाथि कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको थियो। उक्त गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुगेको आयोगको ठहरपछि सभापति लामिछानेले सोही प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार पार्टीको सिफारिस र अनुशासन आयोगको प्रतिवेदनका आधारमा मन्त्री साहलाई पदमुक्त गरिएको हो।

रास्वपाले पार्टी विधानको धारा २५ (४) (क) अनुसार सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादाको रक्षा गर्ने जिम्मेवारी दिइएको उल्लेख गरेको छ। साथै, पदको दुरुपयोग भएको अवस्थामा धारा ६९ अनुसार जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने ‘राइट टु रिकल’ व्यवस्था रहेकाले साहलाई तत्काल हटाउन सिफारिस गरिएको जनाएको छ।

यसैबीच, यही प्रकरणमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि सचेत गराउन रास्वपाले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो। सोही आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई समेत चेतावनी दिइसकेको जानकारी दिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *