काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दर्ता भएसँगै राजनीतिक प्रतिस्पर्धा तीव्र बनेको छ। राप्रपाबाट सांसद सरस्वती तामाङ ले उम्मेदवारी दर्ता गराएकी छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको संवादपछि उम्मेदवारी दिएको बताएका छन्।
उनका अनुसार रास्वपा सभापति रवि लामिछाने ले फोनमार्फत समर्थनको संकेत गरेपछि उम्मेदवारी दर्ता गरिएको हो। “सभापतिज्यूले फोन गरेर समर्थन रहने बताएपछि हामी अघि बढेका हौँ, यसमा अन्यथा केही छैन,” शाहीले भने। रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको भन्ने विषयमा उठेका प्रश्नमा उनले असन्तुष्टि जनाउँदै यदि अन्य दललाई समर्थन गर्ने भए आफूलाई किन सम्पर्क गरिएको भन्ने प्रश्नसमेत उठाए।
यता, श्रम संस्कृति पार्टीबाट भने युवा नेतृ रुवी ठाकुरले उपसभामुख पदका लागि उम्मेदवारी दिएकी छन्। २५ वर्षीया ठाकुर समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। उम्मेदवारी दर्ताका लागि बिहीबार दिउँसो २ बजेसम्मको समय तोकिएको थियो। दुवै दलबाट उम्मेदवारी परेपछि उपसभामुख चयन प्रक्रिया थप रोचक र प्रतिस्पर्धात्मक बनेको छ।




