काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले रिहा गरेको छ।
जेनजी आन्दोलनमा बल प्रयोग गरेको आरोपमा गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने क्रममा पक्राउ परेका दुवै नेतालाई अनुसन्धान जारी रहने सर्तमा नियन्त्रणमुक्त गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको छ भने लेखकलाई उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाइएको छ। ओली हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। स्वास्थ्य अवस्थाका आधारमा थप निर्णय चिकित्सकले गर्ने जनाइएको छ।
ओलीलाई चैत १४ गते भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरिएको थियो। त्यसपछि उनकी पत्नी राधिका शाक्यले गैरकानूनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्। सर्वोच्च अदालतले चैत २६ भित्र अनुसन्धान टुंग्याउन, नसकिए सर्तसहित रिहा गर्न आदेश दिएको थियो।
यही प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखक पनि १३ दिनपछि रिहा भएका हुन्। उनलाई आवश्यक परे अनुसन्धानमा उपस्थित हुने सर्तमा रिहा गरिएको प्रहरीले जनाएको छ।
भदौ २३ र २४ का घटनासम्बन्धी कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि लेखकलाई भक्तपुरबाट पक्राउ गरिएको थियो।




