काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक आज थुनामुक्त हुने सम्भावना छ।
जिल्ला अदालत काठमाडौंले उनीहरूविरुद्ध तेस्रोपटक ५ दिनको म्याद थपेको आज सकिँदैछ। सर्वोच्च अदालतको परमादेशअनुसार अब म्याद थप नगरी उनीहरूलाई रिहा गर्न सकिने देखिएको हो।
गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकलाई म्याद थप नगर्न आदेश जारी गरेको थियो। सर्वोच्चले अनुसन्धान टुंगिन नसकेमा उनीहरूलाई रिहा गरी अनुसन्धान जारी राख्न आदेश दिएको थियो।
तर प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिलमार्फत अदालतमा अभियोजन दर्ता गरे र थुनछेक बहस सुरु भएमा उनीहरू तत्काल रिहा नहुन सक्ने पनि देखिएको छ। थुनछेक बहसपछि अदालतले थुनामा राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने निर्णय गर्नसक्नेछ।
ओली र लेखकलाई गत भदौ २३–२४ को आन्दोलनको जाँचबुझका लागि गठन गरिएको कार्की आयोगको सिफारिसअनुसार चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो।




