देश

विदेशमा उपचारका लागि आउँदा अतिरञ्जना गरियोः शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयलाई अतिरञ्जना भनेका छन् । बुधबार दिउँसो देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै समाचार आएपछि साँझ सामाजिक संजालमार्फत देउवाले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु । देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ । मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।’

उनले भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न आफू गृहमन्त्री हुँदादेखि नै लागेको बताएका छन् । उनले भनेका छन्, ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ । स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु । बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरञ्जना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपील गर्दछु। जय नेपाल।’

Screenshot

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *