राजनीति

एमालेभित्र बढ्यो तिक्तता, बादल–पौडेल विवाद सार्वजनिक

काठमाडौं । नेकपा एमाले भित्र आन्तरिक मतभेद सतहमा देखिन थालेको छ। संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले उपाध्यक्ष विष्णुप्रसाद पौडेल माथि गम्भीर आरोप लगाउँदै पार्टीभित्रै ‘दुस्मन’ उजागर भएको दाबी गरेका छन्। कास्कीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले संसद्मा आफूले राखेको धारणा पार्टीकै आधिकारिक लाइन भएको जिकिर गरे। उनले उक्त अभिव्यक्तिपछि पार्टीभित्र र बाहिर रहेका विरोधीहरू खुला रूपमा देखिएको टिप्पणी गरे।

नाम नलिई उनले पौडेलले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणीप्रति असन्तुष्टि जनाए। उनका अनुसार केन्द्रीय सचिवालयको पछिल्लो वक्तव्यले थप अन्योल सिर्जना गरेको छ र यसले पार्टीभित्रको मतभेद झन् प्रस्ट पारेको छ। यसअघि उपाध्यक्ष पौडेलले संसदीय दल नेताका रूपमा बादलले संसद्मा व्यक्त गरेको धारणा पार्टीको स्थापित नीति र मान्यताविपरीत रहेको भन्दै सार्वजनिक रूपमा आलोचना गरेका थिए।

बादलले भने उक्त प्रतिक्रिया नै पार्टीभित्र ‘दक्षिणपन्थी प्रवृत्ति’ रहेको संकेत भएको दाबी गरे। “कसले कस्तो प्रतिक्रिया दिन्छ भन्नेबाट भित्र लुकेका प्रवृत्ति बाहिर आएका छन्,” उनको भनाइ थियो। एमालेभित्र शीर्ष तहकै नेताबीच देखिएको यो विवादले पार्टीभित्रको शक्ति सन्तुलन र नीतिगत एकरूपतामाथि प्रश्न उठाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *