काठमाडौं । प्रतिनिधिसभामा अभिव्यक्तिलाई लिएर नयाँ विवाद उत्पन्न भएको छ। नेकपा एमाले ले आफ्नो अध्यक्ष केपी शर्मा ओली सम्बन्धी टिप्पणी संसद्को अभिलेखबाट हटाउन औपचारिक माग गरेको छ। एमालेकी सांसद साजिदा खातुन सिद्धीकीले शून्य समयमा बोल्दै पुरुषोतम यादव ले दिएको अभिव्यक्ति आपत्तिजनक र असंसदीय भएको आरोप लगाइन्। उनले उक्त टिप्पणी तत्काल संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरिन्।
यसअघि यादवले चैत १९ गतेको सम्बोधनप्रति प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीको विचारप्रति कडा टिप्पणी गरेका थिए। उनले अस्पतालमा रहेका नेताबाट संसद्मा ‘कुविचार’ आएको आरोप लगाउँदै अभिव्यक्ति दिएका थिए, जसले सदनमा तीव्र प्रतिक्रिया निम्त्याएको हो। एमाले पक्षले यसलाई व्यक्तिगत आक्षेप र राजनीतिक मर्यादाविपरीतको व्यवहार भन्दै आपत्ति जनाएको छ भने रास्वपा पक्षबाट आएको टिप्पणीले अभिव्यक्ति स्वतन्त्रता र संसदीय मर्यादाबीचको सीमाबारे बहस सुरु गराएको छ। संसद्मा बढ्दो आरोप–प्रत्यारोपका बीच अब सभामुखले यस विषयमा के निर्णय लिन्छन् भन्ने चासो बढेको छ।




