देश

बागमती प्रदेशसभाको सभामुखमा चार दलको दाबी, सहमतिका लागि दौडधुप सुरु

बागमती। बागमती प्रदेशसभामा रिक्त रहेको सभामुख पदका लागि सत्ता पक्ष र प्रतिपक्षसहित चार राजनीतिक दलले दाबी प्रस्तुत गरेका छन्। यससँगै सभामुख चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।

पूर्व सभामुख भुवनकुमार पाठकले जेनजी आन्दोलनलगत्तै गत असोज १ गते राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको थियो। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको संयुक्त बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आ–आफ्नो दाबी राखेका हुन्।

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका सचेतक पुकार महर्जनले प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकाले सभामुख पदमा कांग्रेसको दाबी स्वाभाविक रहेको बताए।“एमालेले पनि सभामुख हामीलाई चाहियो भनिरहेको छ, हामी सत्तारुढ दलहरूबीच सहमति कायम गरेर अघि बढ्न चाहिरहेका छौँ,” उनले भने, “ठूलो दलको हैसियतले कांग्रेसलाई सभामुख दिनुपर्छ भन्ने हाम्रो अडान छ।”

यता सत्ता साझेदार एमालेले भने कांग्रेससँग मुख्यमन्त्री रहेको अवस्थामा सभामुख आफ्नो दलले पाउनुपर्ने दाबी अघि सारेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले दुई दलबीच यस विषयमा विवाद नरहेको दाबी गरे।

प्रमुख प्रतिपक्षमा रहेको नेपाली कम्युनिष्ट पार्टीले सरकार र सदनबीच शक्ति सन्तुलनका लागि सभामुख आफ्नो दलले पाउनुपर्ने अडान राखेको छ। पार्टी नेता शालिकराम जम्कट्टेलले सत्ता पक्षबीच सहमति नजुटे आफ्नो दलले उम्मेदवारी दिने स्पष्ट पारे।“हामीले सत्तारुढ दललाई सरकार चलाउनुस्, सदनको नेतृत्व हामीलाई दिनुस् भनिरहेका छौँ,” उनले भने, “शक्ति सन्तुलनका लागि प्रतिपक्षको दाबी स्वाभाविक हो।”

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सभामुखमा आफ्नो दाबी दोहोर्‍याएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफ्नो दलबाट निर्वाचित सभामुख पाठकले राजीनामा दिएकाले पुनः सो पद राप्रपालाई नै दिनुपर्ने बताए।

बागमती प्रदेशसभाको सत्रौँ अधिवेशन हिजोदेखि सुरु भएको हो। सभामुख चयन प्रक्रिया प्रारम्भ भएसँगै संवैधानिक व्यवस्थाअनुसार १५ दिनभित्र नयाँ सभामुख चयन गरिसक्नुपर्ने छ।

एक सय चार सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका ३५, नेकपा एमालेका २५, नेपाली कम्युनिष्ट पार्टीका २६, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ तथा हाम्रो नेपाली पार्टीका २ सदस्य छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *