काठमाडौं । जेनजी आन्दोलनका क्रममा लापरबाहीका कारण आन्दोलनकारीको मृत्यु भएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध मुद्दा दायर गर्ने कि हाजिरी जमानीमा रिहा गर्ने भन्ने विषयमा प्रहरीले परामर्श अघि बढाएको छ।
सर्वोच्च अदालतले सोमबार दिएको परमादेशअनुसार बुधबारभित्र अनुसन्धान टुंगिएन भने उनीहरूलाई थुनामुक्त गर्नुपर्ने भएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले अब म्याद थप नगर्न स्पष्ट निर्देशन दिएको थियो।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार सरकारी वकिल कार्यालयसँग छलफल भइरहेको छ। ‘मुद्दा दायर गर्ने वा हाजिरी जमानीमा छाड्ने निर्णय छलफलपछि हुनेछ,’ उनले भने।
ओली र लेखकलाई गत १४ चैतमा पक्राउ गरिएको थियो र बयान प्रक्रिया सम्पन्न भइसकेको छ। अनुसन्धान टुंगिएमा सरकारी वकिलले आजै अदालतमा मुद्दा दायर गर्न सक्नेछन्। अनुसन्धान अपूरो रहेमा सर्वोच्चको आदेशअनुसार उनीहरूलाई थुनाबाहिर राखेर थप अनुसन्धान गर्नुपर्ने छ।
यसै प्रकरणमा पक्राउ परेका सहसचिव छवि रिजाललाई यसअघि नै हाजिरी जमानीमा रिहा गरिएको छ। अदालतले ओलीको स्वास्थ्य अवस्था र दुवै जनाको बयान पूरा भइसकेको अवस्थालाई ध्यानमा राख्दै छिटो अनुसन्धान टुंग्याउन निर्देशन दिएको छ।




