राजनीति

बाढी जोखिम क्षेत्रको निरीक्षणमा गृहमन्त्री, रोशी खोला किनारका बासिन्दालाई आश्वासन

काठमाडौं । क्याबिनेट बैठक सकेलगत्तै गृहमन्त्री सुधन गुरुङ काभ्रेपलाञ्चोकस्थित रोशी खोला बगर पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।
टोलीसहित पुगेका मन्त्री गुरुङले वर्षेनी बाढीका कारण समस्यामा पर्ने स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको गुनासो र आवश्यकता सुनेका थिए। सो क्रममा उनले उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको अवस्था नजिकबाट अध्ययन गरिएको जानकारी दिए।

स्थानीयले हरेक वर्ष दोहोरिने बाढी समस्याका कारण जनजीवन प्रभावित हुँदै आएको गुनासो राखेपछि मन्त्री गुरुङ निरीक्षणका लागि त्यहाँ पुगेका हुन्। निरीक्षणपछि मन्त्री गुरुङले वर्षायाम सुरु हुनुअघि नै जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना र सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्न निर्देशन दिने बताएका छन्। उनका अनुसार बाढीको सम्भावित क्षति घटाउन पूर्वतयारीमा विशेष ध्यान दिइनेछ। आज बिहान ९ बजेका लागि तय गरिएको भ्रमण क्याबिनेट बैठकका कारण स्थगित भई दिउँसो सम्पन्न भएको मन्त्रीको सचिवालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *