राजनीति

अमेरिका–इरान तनाव चुलिँदैः डोनाल्ड ट्रम्प को चेतावनीपछि इरान उच्च सतर्कतामा

काठमाडौं । अमेरिका र इरानबीचको तनाव चरम बिन्दुतर्फ उन्मुख देखिएको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्ध कडा चेतावनी दिएपछि मध्यपूर्व क्षेत्रमा युद्धको जोखिम झनै बढेको आकलन गरिएको छ। ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानमाथि कडा हमला हुन सक्ने संकेत दिएपछि सम्भावित सैन्य कारबाहीको चर्चा तीव्र बनेको छ। यसले क्षेत्रीय सुरक्षा अवस्था थप अस्थिर बनाएको विश्लेषकहरू बताउँछन्।

यसैबीच इरानले पनि सम्भावित आक्रमणको सामना गर्न देशभर उच्च सतर्कता अपनाएको छ। विभिन्न रिपोर्टहरूका अनुसार इरानका प्रमुख शहरहरूमा मिसाइल लञ्चरहरू सक्रिय पारिएको छ, जसले प्रतिरक्षात्मक तयारीलाई संकेत गर्छ।

इरानी नेतृत्वले अमेरिकी दबाबलाई अस्वीकार गर्दै प्रतिकारका लागि तयार रहेको सन्देश दिएको छ। इरानका उच्च अधिकारीहरूले देशको सार्वभौमिकता जोगाउन कुनै पनि हदसम्म जान तयार रहेको बताएका छन्। साथै, ऊर्जा संरचना, यातायात सञ्जाल र रणनीतिक पूर्वाधारलाई लक्षित हुन सक्ने सम्भावित आक्रमणको जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सचेत रहन आह्वान गरिएको छ।

अमेरिका र उसका सहयोगी देशले इरानका भौतिक तथा ऊर्जा संरचनालाई निशाना बनाउन सक्ने संकेतले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन हुनसक्ने चिन्ता पनि बढाएको छ। विशेषज्ञहरूका अनुसार गैरसैनिक संरचनामाथि जानाजानी हमला गर्नु युद्ध अपराध मानिन्छ, जसले अन्तर्राष्ट्रिय समुदायमा थप विवाद निम्त्याउन सक्छ।

यदि द्वन्द्व थप चर्कियो भने यसको असर केवल इरान र अमेरिका सीमित नरही विश्व अर्थतन्त्रमा समेत पर्ने देखिन्छ। विशेषगरी स्ट्रेट अफ होर्मुज जस्ता महत्वपूर्ण तेल आपूर्ति मार्ग अवरुद्ध भएमा विश्व बजारमा ऊर्जा संकट उत्पन्न हुनसक्छ। हालको अवस्था हेर्दा अमेरिका र इरानबीच प्रत्यक्ष सैन्य द्वन्द्वको सम्भावना पूर्ण रूपमा नकार्न सकिँदैन। दुवै पक्षको आक्रामक अभिव्यक्ति र तयारीले परिस्थितिलाई झन् जटिल बनाइरहेको छ।

यद्यपि, कूटनीतिक प्रयासमार्फत तनाव घटाउने सम्भावना अझै बाँकी रहेको विश्लेषकहरूको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *