काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले पहाडी जिल्लामा बढ्दो बाँदर आतङ्क, बाढी डुबान, सडक सुरक्षा, नदीजन्य वस्तुको उत्खनन र प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट गर्दै किसानलाई ठूलो क्षति पुर्याइरहेको भन्दै यसको दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरे।
सांसद आर्यन राईले खोटाङलगायत पूर्वी पहाडका कृषि क्षेत्रमा बाँदर आतङ्क गम्भीर बन्दै गएको उल्लेख गर्दै यसबारे आफूहरूले सरकारलाई बारम्बार जानकारी गराइसकेको बताए। उनले किसानको जीविकोपार्जनसँग जोडिएको यो समस्याको शीघ्र समाधान गर्न सरकारलाई आग्रह गरे।
यस्तै, सांसद एलिजा गुरुङले मनाङ–मुस्ताङसहित मुलुकका विभिन्न स्थानमा घोषणा गरिएका प्रतिबन्धित क्षेत्रका कारण स्थानीयवासीको मौलिक हक प्रभावित भएको बताउँदै ती क्षेत्र खुला गरी स्थानीय तहमार्फत व्यवस्थापन र सञ्चालन गर्न माग गरिन्।
सांसद अशोक चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बर्सेनि बाढीबाट हुने डुबानको समस्या समाधानका लागि दिगो योजना ल्याउन सरकारसँग आग्रह गरे भने सांसद आकृति अवस्थीले सुशासन र भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनमाथि दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने माग गरिन्।
त्यसैगरी, सांसद आशिष गजुरेलले दैनिक सडक दुर्घटनामा औसत सात जनाको ज्यान जाने गरेको तथ्य प्रस्तुत गर्दै सडक सुरक्षा विधेयक तत्काल संसद्मा पेस गरी पारित गर्नुपर्नेमा जोड दिए।
सांसद आशिका तामाङले त्रिशूलीलगायत नदीमा भइरहेको नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित र कानुनी दायरामा ल्याउन माग गरिन्। सांसद इन्दिरा रानामगरले युवापुस्ता दुव्र्यसनको सिकार बन्दै गएको उल्लेख गर्दै त्यसको रोकथामका लागि नयाँ र प्रभावकारी कार्यक्रम ल्याउन सरकारसँग माग गरिन्।




