काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशी ऋण लिने विषयमा वर्तमान सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले अघिल्लो समयमा ऋणको कडा विरोध गर्ने पक्षहरू अहिले सत्तामा पुगेर त्यही नीति अपनाएको भन्दै स्पष्ट जवाफ माग गरेका हुन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले विकासका लागि विदेशी ऋण आवश्यक हुन सक्ने स्वीकार गरे पनि त्यसको स्पष्ट नीति, प्राथमिकता र पारदर्शिता हुनुपर्नेमा जोड दिएका छन्।
उनले २२ चैतमा मन्त्रिपरिषद्ले करिब १८.५ करोड अमेरिकी डलर बराबरको विदेशी ऋण लिने निर्णय गरेको प्रसंग उल्लेख गर्दै यस्तो निर्णय किन र कसरी लिइयो भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए। पोखरेलका अनुसार विगतमा ऋणलाई देशको लागि हानिकारक भन्दै आलोचना गर्नेहरू अहिले त्यही बाटोमा अघि बढ्नुले राजनीतिक द्वैध चरित्र झल्काएको छ। ‘हिजो विरोध गर्ने, आज स्वीकार गर्ने प्रवृत्तिले जनतामा प्रश्न उठ्नु स्वाभाविक हो,’ उनले उल्लेख गरेका छन्।
यसैबीच, प्रतिनिधिसभामा समेत विदेशी ऋणको विषय उठ्न थालेको छ। राप्रपाकी सांसद खुस्बु ओलीले पनि सरकारको निर्णयप्रति आपत्ति जनाउँदै स्पष्टता माग गरेकी छन्। पोखरेलले सरकारलाई ऋणसम्बन्धी निर्णयमा पारदर्शिता अपनाउन र जनतालाई स्पष्ट जानकारी दिन आग्रह गरेका छन्।




