देश

वर्तमान सरकारको निर्णय-६ देशका राजदूतलाई एक महिनाभित्र फर्किन आदेश

काठमाडौं । वर्तमान सरकारले अघिल्लो सरकारद्वारा नियुक्त ६ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले यस्तो निर्णय गर्दै सम्बन्धित राजदूतहरूलाई एक महिनाभित्र नेपाल फर्किन निर्देशन दिएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार सो निर्णयबारे सोमबार सम्बन्धित राजदूतहरूलाई औपचारिक रूपमा पत्राचार गरिसकिएको छ। भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिकामा कार्यरत नेपाली राजदूतहरू यस निर्णयबाट प्रभावित भएका छन्। हाल भारतमा शंकरप्रसाद शर्मा, अस्ट्रेलियामा चित्रलेखा यादव, श्रीलंकामा पूर्णबहादुर नेपाली, डेनमार्कमा सुम्निमा तुलाधर, दक्षिण कोरियामा शिवमाया तुम्बाहाम्फे र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ राजदूतका रूपमा कार्यरत छन्।

यसअघि पनि अघिल्लो अन्तरिम सरकारले विभिन्न देशका ११ राजदूतलाई फिर्ता बोलाएको थियो। सोही क्रमलाई निरन्तरता दिँदै अहिले बाँकी ६ राजदूतलाई पनि फिर्ता बोलाउने निर्णय गरिएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार राजदूतहरूलाई तोकिएको समयभित्र मन्त्रालयमा हाजिर हुन भनिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *