काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहलाई लुम्बिनी प्रदेशका ठूला पूर्वाधार तथा विकास आयोजनालाई प्राथमिकतामा राखेर अघि बढाउन आग्रह गरेका छन्। सोमबार प्रधानमन्त्रीले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग गरेको छलफलमा सहभागी पुनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्ण सञ्चालनमा ल्याउन भारतसँग हवाई रुटबारे कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए।
उनले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न भारतसँग हवाई मार्गको सहमति अपरिहार्य रहेको उल्लेख गर्दै श्रम डेस्क स्थापना गरी वैदेशिक रोजगारी र पर्यटन दुवै क्षेत्रलाई चलायमान बनाउन ढिलाइ गर्न नहुने बताए। पुनले दाङको कोइलाबास–रोल्पा–रुकुम हुँदै डोल्पा जोड्ने शहीद मार्गलाई रणनीतिक महत्वको परियोजना भन्दै यसको निर्माणलाई तीव्रता दिन बजेट सुनिश्चित गर्न आग्रह गरे। विशेषगरी घोराही–होलेरी खण्ड कालोपत्रे र सुलीचौर–उवा स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराए।
त्यसैगरी उनले रोल्पाको माडी बहुउद्देश्यीय जलविद्युत आयोजना रोकिएको अवस्थामा रहेको उल्लेख गर्दै सरकारी स्वामित्वको कम्पनी र चिनियाँ साझेदारीमा अघि बढाइएको परियोजनालाई पुनः गति दिन माग गरे। आफू अर्थमन्त्री हुँदा बजेटमा समेटिएको गण्डकी आर्थिक त्रिभुज परियोजना पुनः सक्रिय बनाउनुपर्नेमा पनि पुनले जोड दिए। भरतपुर, बुटवल र पोखरालाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने अवधारणाले देशको समग्र अर्थतन्त्रमा ‘गेम चेन्जर’ भूमिका खेल्न सक्ने उनको भनाइ थियो।
यसका साथै लुम्बिनी प्रदेशको कृषि सम्भावनालाई ध्यानमा राख्दै सिँचाइ, मल, बीउ, आधुनिक कृषि औजार र बजार व्यवस्थापनसहित एकीकृत कृषि विकास परियोजना अघि बढाउन सुझाव दिएका छन्। पुनले सबै १६५ निर्वाचन क्षेत्रका लागि समानुपातिक रूपमा सांसदको सिफारिसमा विकास आयोजना छुट्याउने पुरानो अभ्यास पुनः सुरु गर्नुपर्ने धारणा पनि राखेका छन्।
समग्रमा पुनका सुझावले भैरहवा विमानस्थल सञ्चालन, रणनीतिक सडक, ऊर्जा र क्षेत्रीय आर्थिक विकासलाई एकैसाथ जोड्ने बहुआयामिक विकास एजेन्डा अघि सारेको देखिन्छ।




