देश

प्रहरी धरपकडको विरोधमा लेखापढी व्यवसायीको आन्दोलन, अनिश्चितकालीन पेनडाउन घोषणा

काठमाडौं । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन, पाटन इकाई समितिले आफ्ना व्यवसायीमाथि प्रहरीले गरेको धरपकड र पक्राउप्रति कडा आपत्ति जनाउँदै अनिश्चितकालीन पेनडाउन आन्दोलन घोषणा गरेको छ।

समितिले सोमबार जारी गरेको विज्ञप्तिमा भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरमा कार्यरत लेखापढी व्यवसायी र भू–सेवा केन्द्र सञ्चालकलाई पर्याप्त आधारबिना ‘बिचौलिया’को संज्ञा दिँदै पक्राउ गरिएको घटनाको भर्त्सना गरेको छ।

एशोसिएशनका अनुसार २०८२ चैत २२ गते मालपोत कार्यालय ललितपुरमा कार्यरत व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी परिसर जावलाखेल पुर्‍याएको थियो। कानुनी अनुमति प्राप्त गरी सञ्चालनमा रहेका सेवा केन्द्रका सञ्चालकलाई अपराधी सरह व्यवहार गरिएको भन्दै समितिले यसलाई पेशागत गरिमामाथिको आक्रमण भनेको छ।

समितिका सचिव भरत घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, “नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० र लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१ अन्तर्गत प्रमाणपत्र प्राप्त गरी सेवा दिइरहेका व्यवसायीलाई बिचौलिया भन्नु सरासर गलत र अपमानजनक हो।”

त्यसैगरी भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशिका २०७६ अनुसार सञ्चालनमा रहेका भू–सेवा केन्द्रलाई समेत बदनाम गर्ने गरी गरिएको व्यवहारले संवैधानिक हक र पेशागत अधिकारमाथि गम्भीर चोट पुगेको समितिको निष्कर्ष छ।

यसको विरोधस्वरूप एशोसिएशनले देशभरका लेखापढी व्यवसायीलाई अर्को निर्णय नभएसम्म पेनडाउनमा जान आह्वान गरेको छ। आन्दोलनको अवधिमा लुकिछिपी सेवा सञ्चालन गरेको पाइएमा विधानअनुसार कारबाही गरिने र संस्थागत सहयोगसमेत नपाइने चेतावनी दिइएको छ।

राज्य पक्षबाट भएको व्यवहार सच्याइ निर्वाध रूपमा पेशा सञ्चालन गर्ने वातावरण सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने समितिले जनाएको छ। यद्यपि, पक्राउ परेका व्यवसायीहरू भने आइतबार साँझ नै रिहा भइसकेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *