काठमाडौं। नेकपा एमालेकी राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले भदौ २४ गतेको घटनासँग सम्बन्धित छानबिनमा ढिलाइ हुनु नहुने भन्दै सरकारसँग स्पष्ट जवाफ मागेकी छन्। सोमबार भएको राष्ट्रिय सभा बैठकमा झाँक्रीले प्रश्न गर्दै भनिन्, “भदौ २४ को घटनाको निष्पक्ष छानबिन कहिले सुरु हुन्छरु” उनले घटनाका शान्तिपूर्ण र हिंसात्मक पक्षबारे स्पष्टीकरण मागिन्।
सांसद झाँक्रीले प्रश्न गरिन्, “भदौ २३ र २४ गतेको विद्रोह शान्तिपूर्ण थियो वा हिंसात्मकरु २४ गते सिंहदरबार जस्ता संरचना जलेपछि त्यसको जिम्मेवारी कसले लिन्छरु” उनले भने, “त्यस घटनालाई नियमन गर्दै मान्छेलाई कहाँ पठाइयो भन्ने विषयमा प्रतिवेदन आए पनि, तथ्य बाहिर ल्याउन ढिलाइ हुनु उचित होइन।”
झाँक्रीले नवयुवालाई गलत ढंगले परिचालन गरी सरकारी संरचना क्षति पुर्याइएको घटनामा आफू भावविह्वल भएको उल्लेख गर्दै, सत्यतथ्य सार्वजनिक हुनुपर्नेमा जोड दिइन्। उनले सरकारले “सब ठिक छ” भनेर ढाकछोप गर्नु नहुने चेतावनी दिइन्। उनले थपिन्, “राज्यको विरुद्ध जे पनि गर्न सकिन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढ्न सकिँदैन।” यस अभिव्यक्तिले भदौ २४ को घटनासँग सम्बन्धित छानबिन प्रक्रिया, जिम्मेवारी र सरकारी पारदर्शिताप्रति संसद् भित्रको चासो उजागर गरेको छ।




