काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्य संयोजन समितिको बैठक सोमबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रस्तुत प्रतिवेदन प्रत्येक सदस्यलाई अध्ययनका लागि उपलब्ध गराइएको छ।
बैठकको एजेन्डामा पार्टी एकता, समायोजन, आगामी महाधिवेशन तयारी र कार्ययोजना समावेश रहेका छन्। यसअघि बिहीबार बसेको बैठकमा पनि यी विषयमा विस्तृत छलफल भएको र एजेन्डा पारित गरिएको थियो। पार्टी भित्रको एकता र आगामी रणनीतिक योजना तय गर्ने उद्देश्यले आयोजित यस बैठकले आगामी राजनीतिक गतिविधिमा मार्गनिर्देशन दिने अपेक्षा गरिएको छ।




