राजनीति

भ्रष्टाचारका मुद्दाका ठूला फाइल खोल्न अख्तियार प्रमुख राईलाई गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसँग भेट गरी ठूला भ्रष्टाचार प्रकरणको अनुसन्धान र अभियोजनलाई तीव्र बनाउन आग्रह गरेका छन्। उच्च तहका व्यक्तिहरू जोडिएका फाइलसमेत नरोकी अघि बढाउन सरकारको स्पष्ट समर्थन रहने सन्देश उनले दिएको स्रोतले जनाएको छ।

गृहमन्त्रीनिकट स्रोतका अनुसार गुरुङ तीन दिनअघि टोलीसहित अख्तियार प्रमुख राईलाई भेट्न पुगेका थिए। भेटका क्रममा उनले सरकार भ्रष्टाचार नियन्त्रणप्रति गम्भीर रहेको उल्लेख गर्दै आवश्यक सूचना, जनशक्ति र प्रशासनिक सहयोग उपलब्ध गराउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।

स्रोतका अनुसार गृहमन्त्रीले प्रमुख आयुक्त राईलाई “सरकारको प्रतिबद्धताअनुसार निस्पक्ष रूपमा काम अघि बढाउन” आग्रह गरेका छन्। अनुसन्धानका क्रममा जो–कोही संलग्न भए पनि नछोड्न र रोकिएका फाइलहरू पुनः सक्रिय रूपमा अघि बढाउन उनले उत्साह दिएका थिए।

यसअघि पनि प्रमुख आयुक्त राईले गृहमन्त्रीसँगको संवादमा आफूले निष्पक्ष अनुसन्धानका आधारमा पूर्वप्रधानमन्त्री, पूर्वमुख्यसचिव तथा उच्च पदस्थ व्यक्तिहरू मुछिएका ठूला भ्रष्टाचार काण्डमा अभियोजन अघि बढाएको जानकारी गराएका थिए।

स्रोतका अनुसार पछिल्लो राजनीतिक समर्थनपछि विगतमा विभिन्न दल र नेताको दबाबका कारण सुस्त बनेका वा रोकिएका ‘ठूला माछा’ जोडिएका दर्जनौँ फाइलहरूमा अख्तियारले पुनः तीव्रता दिएको छ। यसलाई आयोगभित्र उच्चस्तरीय भ्रष्टाचार प्रकरणमा नयाँ सक्रियताको संकेतका रूपमा हेरिएको छ।

सरकारको तर्फबाट खुलेर साथ रहने सन्देशपछि अब ठूला भ्रष्टाचार प्रकरणमा अनुसन्धानको दायरा अझ फराकिलो बन्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *