राजनीति

फेवाताल जग्गा विवादमा हर्क साम्पाङको गृहमन्त्रीलाई आग्रह : ‘तथ्य सार्वजनिक गर्नुस्’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा निर्वाचित सांसद  हर्क साम्पाङले गृहमन्त्री सुधन गुरूङको नाम फेवाताल क्षेत्रको २० रोपनी जग्गासँग जोडिएको विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै साम्पाङले विवादित विषयमा पत्रकार सम्मेलनमार्फत सत्यतथ्य बाहिर ल्याउन सुझाव दिएका हुन्। उनले नैतिकताको प्रश्न उठिसकेको भन्दै समयमै स्पष्टीकरण दिनुपर्ने बताएका छन्।

“खास कुरा के हो, पत्रकार सम्मेलन राखेर प्रष्ट पार्नुस्,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यो विषय अब नैतिकताको सवाल बनिसकेको छ।” साम्पाङले आरोपबारे मौन बस्दा जनविश्वास कमजोर हुने चेतावनीसमेत दिएका छन्। उनका अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले उठेका प्रश्नको जवाफ नदिए नागरिकस्तरमा अविश्वास बढ्ने र राज्य संयन्त्रमा समेत त्यसको असर देखिन सक्छ।

फेवातालको २० रोपनी जग्गामा गृहमन्त्रीको नाम जोडिएको समाचारले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएपछि आफूलाई पनि असहज लागेको उनले उल्लेख गरेका छन्। काम गर्ने व्यक्तिले आलोचना र अपजस दुवै भोग्नुपर्ने भए पनि यस्ता विवादमा स्पष्टता आवश्यक रहेको उनको भनाइ छ।

यसैबीच साम्पाङले आफूले संसद्मा उठाएका मुद्दाहरू पनि नबिर्सन गृहमन्त्रीलाई स्मरण गराएका छन्। उनले जेनजी आन्दोलनको २४ गतेको घटनाका दोषीमाथि कारबाही र जीबी राईलाई पक्राउ गरी रवि लामिछानेलाई न्याय दिलाउने विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। साम्पाङले गृहमन्त्रीलाई शुभकामना दिँदै विवादमा तथ्यपरक जवाफ दिएर जनविश्वास जोगाउन सुझाव दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *