देश

प्रतिनिधि सभाको एजेन्डा तय गर्न सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार बिहान सिंहदरबारमा बोलाएका छन्। संसद् बैठकको कार्यसूची तय गर्न तथा संसदीय समितिहरू गठनबारे सहमति जुटाउन उक्त बैठक आह्वान गरिएको हो।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विशेषगरी तीन महत्वपूर्ण विषयमा छलफल केन्द्रित हुने जनाइएको छ।

महासचिव पाण्डेका अनुसार सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूचीबारे प्रारम्भिक सहमति खोजिनेछ। यससँगै कार्यव्यवस्था परामर्श समिति गठन र प्रतिनिधि सभा नियमावली परिमार्जन समिति गठनका विषयमा पनि दलहरूबीच छलफल हुने छ।

नयाँ अधिवेशन सुरु भएसँगै प्रतिनिधि सभालाई प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक प्रक्रियागत संरचना तयार पार्ने उद्देश्यले सभामुखले सर्वदलीय संवाद अघि बढाएका हुन्। समितिहरू गठन भएपछि संसद्को नियमित कार्यसम्पादन र एजेन्डा व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। सिंहदरबारमा हुने उक्त बैठकलाई संसद्को आगामी कार्यदिशा तय गर्ने प्रारम्भिक राजनीतिक समन्वयका रूपमा हेरिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *