काठमाडौं । सुदूरपश्चिमकी नेतृ लीला भण्डारी तीन दशक लामो राजनीतिक यात्रापछि राष्ट्रिय सभाको उपाध्यक्ष पदसम्म पुगेकी छन्। विद्यार्थी अधिकारका मुद्दाबाट सुरु भएको उनको सार्वजनिक जीवन अहिले मुलुकको नीति, कानून र संसदीय प्रक्रियालाई दिशा दिने जिम्मेवारीसम्म विस्तार भएको छ।
कैलालीको फूलबारीस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहँदादेखि नै भण्डारीमा राजनीतिक चेतना विकास हुन थालेको थियो। विद्यार्थी संगठनमार्फत शिक्षा र अधिकारका सवालमा आवाज उठाउँदै अघि बढेकी उनी किशोरावस्थामै सक्रिय विद्यार्थी नेतृका रूपमा चिनिन थालिन्।
२०४७ सालतिर एमालेनिकट अनेरास्ववियुबाट राजनीतिक जीवन सुरु गरेकी भण्डारीले त्यसबेला आफू कुनै संवैधानिक पदमा पुग्ने कल्पनासमेत नगरेको बताएकी छन्। तर इमानदारिता, निरन्तर सक्रियता र संगठनप्रतिको निष्ठाले उनलाई राष्ट्रिय सभाको उपाध्यक्षसम्म पुर्याएको छ।
उपाध्यक्षमा निर्वाचित भएपछि उनले यो उपलब्धि व्यक्तिगत नभई सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधि र मतदाताको विश्वासको परिणाम भएको प्रतिक्रिया दिएकी छन्। उनले राष्ट्रिय सभाको गरिमा उकास्ने र दीर्घकालसम्म स्मरणीय रहने काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
भण्डारीका अनुसार राष्ट्रिय सभा कानून, संविधान र नीतिनिर्माणका गम्भीर बहस हुने जिम्मेवार संस्था भएकाले यसको महत्वबारे आमनागरिकलाई अझ स्पष्ट रूपमा बुझाउन आवश्यक छ। राष्ट्रिय सभालाई कमजोर संसदीय थलोका रूपमा बुझ्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको धारणा छ।
विद्यार्थी राजनीति हुँदै सशस्त्र संघर्षसम्म
विद्यालय तहको राजनीति पछि उनी उच्च अध्ययनका लागि कैलाली बहुमुखी क्याम्पस, धनगढी पुगेकी थिइन्। त्यसक्रममा राजनीतिक धार परिवर्तन गर्दै उनी माओवादी आन्दोलनमा आबद्ध भइन् र सशस्त्र संघर्षको कठिन यात्रामा सहभागी भइन्।
उनको राजनीतिक जीवनसँग निजी पीडा पनि गाँसिएको छ। द्वन्द्वकालमा उनका एक मात्र भाइ शहीद भएको स्मरण गर्दै उनले परिवारले ठूलो क्षति बेहोरे पनि देश परिवर्तनको विश्वासले आफूलाई राजनीतिमा टिकाइराखेको बताएकी छन्।
माओवादीको महिला प्रतिनिधित्व नीतिअनुसार कैलाली क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेर उनी प्रत्यक्ष निर्वाचित सांसद बनिन्। त्यसपछि बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनले शिक्षा राज्यमन्त्रीको जिम्मेवारी सम्हालिन्।
शिक्षा राज्यमन्त्री रहँदा गेटा मेडिकल कलेज सञ्चालनका लागि पहल र मुक्त कमलरीहरूको जीवनस्तर सुधारमा खेलेको भूमिकालाई उनी आफ्नो कार्यकालका महत्वपूर्ण उपलब्धिका रूपमा स्मरण गर्छिन्।
एमालेमा पुनरागमन र नयाँ उचाइ
माओवादीमा लामो समय बिताएपछि राजनीतिक स्थायित्व, दीर्घकालीन सोच र जनमुखी एजेन्डाका कारण उनले पुनः एमाले रोजिन्। पार्टीप्रतिको निष्ठा र निरन्तर भूमिकाकै आधारमा एमालेले उनलाई सुदूरपश्चिमबाट राष्ट्रिय सभाको उम्मेदवार बनायो।
माघ ११ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएसँगै उनले पार्टीबाट थप विश्वास पाउँदै उपाध्यक्ष पदसम्मको जिम्मेवारी सम्हाल्ने अवसर पाइन्। सुदूरपश्चिमबाट राष्ट्रिय सभाको उपाध्यक्ष बन्ने उनी पहिलो महिला नेतृसमेत बनेकी छन्।
संवैधानिक व्यवस्थाअनुसार अब उनी सक्रिय पार्टी जिम्मेवारीबाट अलग हुने तयारीमा छिन्। पार्टी नेतृत्व, कार्यकर्ता र आफूलाई विश्वास गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले अब राष्ट्रिय हित र संसदीय मर्यादालाई केन्द्रमा राखेर काम गर्ने बताएकी छन्।
राजनीतिक जीवनको उतारचढाव, वैचारिक मोड, व्यक्तिगत पीडा र संगठनात्मक अनुशासनबीच भण्डारीले बनाएको यो यात्रा नेपाली राजनीतिमा संघर्षबाट स्थापित नेतृत्वको उदाहरणका रूपमा हेरिएको छ।




