देश

उपसभामुख चयनबारे मतभेद

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया झन् जटिल बन्दै गएको छ। सत्तारूढ गठबन्धनभित्रै सहमति नजुट्दा निर्णय प्रक्रिया पेचिलो मोडमा पुगेको हो। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै उपसभामुख कसलाई दिने भन्ने विषयमा फरक धार देखिएको छ। पार्टी सभापति रवि लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उक्त पद दिनुपर्ने पक्षमा देखिएका छन् भने प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह भने श्रम संस्कृति पार्टीतर्फ झुकाव राख्दै आएका छन्।

यसैबीच, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले केही दिनअघि लामिछानेलाई उनकै निवासमा भेटेका थिए। उक्त भेटमा राप्रपाकी सांसद खुश्बु ओलीलाई उपसभामुख बनाउने विषयमा गम्भीर छलफल भएको स्रोतको दाबी छ। तर, प्रधानमन्त्री शाहले भने हर्क साम्पाङ नेतृत्वको दलबाट उम्मेदवार अघि सार्ने संकेत दिएका कारण सहमति जुट्न कठिन बनेको बताइन्छ।

रास्वपाभित्रकै एक नेताका अनुसार सभामुख चयन प्रक्रिया सकिएसँगै उपसभामुखको टुंगो छिट्टै लाग्ने अपेक्षा गरिएको भए पनि आन्तरिक मतभेदले ढिलाइ हुने देखिएको छ। “दलभित्रै दुई धार देखिँदा अन्तिम निर्णयमा पुग्न केही समय लाग्न सक्छ,” उनले भने। यसैबीच, उपसभामुख पदमा अन्य विकल्पबारे पनि अनौपचारिक छलफल भएको जनाइएको छ। नेपाली कम्युनिष्ट पार्टीलाई समर्थन गर्ने सम्भावनाबारे समेत कुरा उठे पनि त्यसो गर्दा संवैधानिक परिषदमा शक्ति सन्तुलन प्रभावित हुनसक्ने चिन्ताले उक्त विकल्प अघि बढ्न सकेको छैन।

उपसभामुख चयन अब केवल पदपूर्ति नभई राजनीतिक सन्तुलन र शक्ति समीकरणसँग जोडिएको विषय बनेको छ। गठबन्धनभित्र सहमति नजुटेमा निर्वाचन प्रतिस्पर्धात्मक बन्ने सम्भावना समेत बढ्दै गएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *