काठमाडौं । दोलखामा निर्माणाधीन ९९.८ मेगावाट क्षमताको तामाकोशी–५ आयोजनाको निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ । २०८५ असार मसान्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाको इलेक्ट्रो–मेकानिकल तथा प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनीको छनोट गरिएको छ । लट–२ प्याकेजअन्तर्गतको कामका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत चीनको हाङझाउ जियाङहे हाइड्रोइलेक्ट्रिक साइन्स एन्ड टेक्नोलोजी कम्पनी लिमिटेड (एचजेएचएसटी) छनोट गरिएको छ । सार्वजनिक खरिद ऐन २०६३ बमोजिम इलेक्ट्रोमेकानिकल इक्विपेमेन्ट तथा प्रसारणलाइनको ठेक्का सार्वजनिक खरिद ऐन २०६३, कम्पनीको आर्थिक प्रशासन नियमावली र बोलपत्रको प्रावधानमा रही ठेक्का छनोट गरिएको आयोजनाले जनाएको छ ।
लट–२ प्याकेजका लागि पहिलोपटक आह्वान गरिएको ठेक्का प्रक्रिया असफल हुँदा दोस्रोपटक गर्नुपरेको थियो । पहिलोपटक असफल हुँदा आयोजनाले एक वर्ष समय त्यत्तिकै खेर फाल्नुपरेको थियो । दोस्रोपटक ठेक्का प्रक्रिया टुंगोमा पुगेसँगै निर्माणले गति लिनुका साथै एक वर्ष समय बचत हुने भएको आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक रामकुमार यादवले बताए ।
यो आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण भइरहेको छ, जुन ४५६ मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो । हाल आयोजनाको लट–१ प्याकेजअन्तर्गत सिभिल संरचनाको निर्माण कार्य भइरहेको छ । कम्पनीका प्रमुख कार्यकारी यादवका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति करिब २२ प्रतिशत पुगेको छ । आयोजना एक वर्ष चाँडो बन्ने भएपछि प्राप्त हुने बिजुली र अन्य दायित्वबापत झन्डै १२ अर्ब रुपैयाँ नोक्सानीबाट हुन जोगिएको छ । सोही कारण काम छिटो सक्न आयोजना लागिपरेको छ । ‘लट–२ को काम पनि समयमा नभए सिभिल संरचना निर्माण गर्ने कम्पनीले समयमा काम सक्न गाह्रो हुन्थ्यो,’ यादवले भने, ‘त्यसपछि निर्माण कम्पनीले क्षतिपूर्ति दाबी गर्ने आयोजनाको लागत बढ्ने अवस्था आउन सक्छ ।’
गौरीशंकर संरक्षण क्षेत्रमा बनिरहेको आयोजनाको काम जग्गाको भोगाधिकार नपाउँदा अन्य २, ३ र ४ नम्बर अडिट टनेलसहितका काम पूर्णरूपमा बन्द थियो । ‘जनताको पानी जनताकै लागानी’ अन्तर्गतको तामाकोसी पाँचौं आयोजना निर्माणमा २१ अर्ब लाग्ने अनुमान गरिएको छ । आयोजनाको काम इपिसी मोडलमा अगाडि बढेको छ । इलेक्ट्रो–मेकानिकल ठेक्का टुंगिनु परियोजना कार्यान्वयनको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको आयोजनाका कार्यकारी प्रमुख यादवले बताए ।
तामाकोशी नदीमा निर्माण भइरहेको यो आयोजना काठमाडौंबाट करिब १७० किलोमिटर दूरीमा पर्छ । आयोजना क्षेत्र बिगु र गौरीशंकर गाउँपालिकाभित्र अवस्थित छ । यो आयोजना अपर तामाकोशी जलविद्युत् आयोजनासँग टेन्डम (तबलमझ) प्रणाली (एउटै नदी वा प्रणालीमा रहेका दुई (वा बढी) आयोजना एकअर्कासँग जोडिएर क्रमशः सञ्चालन हुने) मा विकास गर्ने अवधारणामा आधारित छ । जसअनुसार गोंगर क्षेत्रमा अपर तामाकोशीको टेलरेससँग अन्तरसम्बन्ध गरिएको इन्टेक संरचना निर्माण गरी भूमिगत विद्युत्गृह तामाकोशी नदीको दायाँ किनारमा निर्माण गरिनेछ ।
यस आयोजनाबाट वार्षिक करिब ४९५.१४८ गिगावाट–घण्टा (रोल्वालिङ नसमेट्दा) र ५४३.४९४ गिगावाट–घण्टा (रोल्वालिङ समेट्दा) ऊर्जा उत्पादन हुने अनुमान गरिएको आयोजनाले गरेको छ । उत्पादित विद्युत् गोंगर–खिम्ती २२० केभी ट्रान्समिसन लाइनमार्फत खिम्ती सबस्टेसनसम्म प्रवाह गरिने आयोजनाले जनाएको छ । जसका लागि करिब ३.४ किलोमिटर लामो डबल सर्किट ‘लुप इन–लुप आउट’ प्रसारण लाइन निर्माण गरिने भएको छ ।
६८ प्रतिशतभन्दा बढी कबोल गरे पनि लागेन ठेक्का
इलेक्ट्रोमेकानिकल प्याकेजको ठेक्का लगाउन पहिलोपटक २०८१ जेठ १७ गते अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको थियो । बोलपत्र पेस गर्न २०८१ साउन १४ गतेसम्मको समय दिइए पनि दुईपटक म्याद थपेर २०८१ कात्तिक १२ सम्म दिइयो । पटकपटक समय दिँदा पनि पावर चाइना झोङनान इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र चोङक्विङ वाटर टर्वाइन वक्र्स कम्पनी लिमिटेडको संयुक्त उपक्रम (झोङनान–सिडब्लुटिडब्लु जेभी) ले मात्र बोलपत्र दर्ता गरेका थिए । प्राविधिक मूल्यांकनमा छनोट भएको उक्त कम्पनीले २०८१ माघ ६ गते आर्थिक प्रस्ताव पेस गरेको थियो । आयोजनाको स्वीकृत लागतभन्दा ६८.६१ प्रतिशत बढी लागत कबोल गरेसँगै उक्त कम्पनीले लट–२ को ठेक्का पाउन सकेन । र, पहिलोपटकको बोलपत्र प्रक्रिया नै असफल भएको थियो ।
६ कम्पनीको यस्तो थियो प्रतिस्पर्धा
दोस्रोपटक एक महिनाको समय दिएर २०८२ कात्तिक २७ गते बोलपत्र आह्वान गरिएको थियो । कम्पनीहरूको आग्रहमा बोलपत्र पेस गर्ने म्याद ३० दिन थप गरी २०८२ माघ १३ गतेसम्म पु¥याउँदा बोलपत्र प्रक्रियामा ६ कम्पनीले भाग लिएका थिए । तीमध्ये ‘हाङझोउ रिसोर्स पावर इक्विपमेन्ट कम्पनी लिमिटेड तथा झेजियाङ ओरियन्ट इन्जिनियरिङ कम्पनी लिमिटेडको संयुक्त उपक्रम एचआरपिई–एडओइसी जेभी’ र ‘हाङझाउ जियाङहे’ गरी दुई कम्पनी छनोट भए । प्राविधिक रूपमा छनोट भएका कम्पनीमध्ये आर्थिक प्रस्तावको मूल्यांकनमा भने हाङझाउ जियाङहे छनोट भएको हो । कम्पनीले कुल ५ अर्ब ३२ करोड ३७ लाख १२ हजार १२४ रुपैयाँको लागत कबोल गरेको छ । यो आयोजनाको स्वीकृत लागत ५ अर्ब ५३ करोड ७६ लाख १६ हजार ११३ रुपैयाँको ३.८६ प्रतिशत अर्थात् २१ करोड ३९ लाख ३ हजार ८८ रुपैयाँ कम हो । प्राविधिक प्रस्तावमा छनोट भएको अर्को कम्पनी एचआरपिई–एडओइसी जेभीले ६ अर्ब १३ करोड ५८ लाख ३६ हजार ६९ रुपैयाँको लागत कबोल गरेको थियो । जुन आयोजनाको स्वीकृत लागतभन्दा १०.८५ प्रतिशत अर्थात् ६० करोड ९ लाख १९ हजार ९५६ रुपैयाँले बढी हो ।
कम्पनीहरूले प्राविधिक प्रस्तावअन्तर्गत पेस गरेका योग्यताका कागजातको आधिकारिकता जाँच गर्न प्रमाणपत्र जारी गर्ने निकाय, अन्तिम प्रयोगकर्ता तथा स्वयं बोलपत्रदातासँग समेत स्पष्टीकरण माग गरिएको थियो । ती कम्पनीले विदेशमा जुन जुन काम गरेका थिए तिनको सक्कल डकुमेन्ट र कार्यानुभवसमेत आयोजनाले मगाएको थियो । सम्बन्धित निकायबाट कम्पनीहरूले पेस गरेको विवरण सही रहेको आधिकारिक जानकारी प्राप्त भई कानुनी परामर्शपछि मात्र २०८२ चैत १२ गते ठेक्का प्राप्त गर्ने कम्पनीको छनोटको निर्णय गरिएको आयोजनाले जनाएको छ ।
कम्पनी छनोट भएपछि चैत १३ गते सार्वजनिक ठेक्का सम्झौताका लागि आशयपत्र (एलओई) सम्बन्धी सूचना जारी गरियो । ‘अब आयोजनाले छनोट भएको कम्पनीसँग सम्झौता गरी ठेक्का प्रक्रिया अघि बढ्ने विश्वास गरेका छौं,’ प्रमुख कार्यकारी यादवले भने, ‘कम्पनी छनोट भएको आशयपत्रको सूचना प्रकाशित भएको सात दिनभित्र उक्त कम्पनीविरुद्ध कुनै उजुरी नपरेको अवस्थामा हामीले सम्झौताका लागि पत्राचार गर्ने छौँ, सम्झौता हुनासाथ लट–२ प्याकेजको निर्माण कार्य अघि बढ्ने छ ।’ बोलपत्रदातामध्ये कसैलाई उक्त निर्णयउपर चित्त नबुझे सार्वजनिक खरिद ऐन २०६३ को दफा ४९ अनुसार आशयपत्रको सूचना प्रकाशित भएको मितिले सात दिनभित्र पुनरावलोकन समितिसमक्ष उजुरी गर्न सक्ने व्यवस्थासमेत छ ।




