काठमाडौं । सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहने महान्यायाधिवक्ता पदमा डा। नारायणदत्त कँडेल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आइतबारको बैठकले उनलाई उक्त जिम्मेवारीका लागि सिफारिस गरेको हो। बागलुङको बिहुँमा जन्मिएका डा। कँडेलले बेलायतस्थित क्विन्स युनिभर्सिटीबाट कानुनमा विद्यावारिधि हासिल गरेका छन्। तर उनको पेशागत यात्रा भने पत्रकारिताबाट सुरु भएको थियो। २०४९ सालदेखि सक्रिय पत्रकारितामा प्रवेश गरेका उनले रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार तथा नेपाल वाणी साप्ताहिकजस्ता सञ्चार माध्यममा करिब एक दशकभन्दा बढी समय समाचारदाताका रूपमा काम गरेका थिए। साथै, २०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ धौलागिरी शाखाको सभापति भएर नेतृत्वदायी भूमिका पनि निर्वाह गरेका थिए।
पत्रकारिताबाट कानुनतर्फ मोडिएका कँडेलले २०६० सालमा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएपछि विधि क्षेत्रमा औपचारिक यात्रा सुरु गरेका हुन्। त्यसपछि उनले नेपाल ल क्याम्पसबाट स्नातक तह पूरा गरी उच्च शिक्षाका लागि युरोपका विभिन्न विश्वविद्यालय पुगे। उनले नेसनल युनिभर्सिटी अफ आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन र बेलायतको अलस्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरेका छन्। त्यसपछि पुनः बेलायतमै उच्च अध्ययन गर्दै विद्यावारिधि हासिल गरेका हुन्।
कानुनी अभ्याससँगै उनले मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासन सुदृढीकरणका क्षेत्रमा पनि सक्रिय भूमिका खेलेका छन्। फ्रिडम फोरम, एम्नेष्टी इन्टरनेसनल तथा मानव अधिकार तथा शान्ति समाजजस्ता संस्थासँग सहकार्य गर्दै उनले अधिकार र न्यायको पक्षमा आवाज उठाउँदै आएका छन्। विविध अनुभव र अन्तर्राष्ट्रिय अध्ययनबाट सुसज्जित कँडेलको नियुक्तिलाई न्याय क्षेत्रको सुदृढीकरणतर्फ एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।




