काठमाडौं ।सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो निर्णयसरकारी कार्याल र सबै शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेछ ।
बैठकले ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैङ्क र विश्व बैङ्कबाट नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैङ्कबाट नौ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
बैठकले सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न स्वीकृति दिएको छ ।
यसैगरी, बैठकले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गरेको छ भने डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय वाहनमा परिवर्तन गर्न व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद बैठकका निर्णयहरु :
१- अर्थ मन्त्रालयबाट डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टको लागि क्रमश एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
२- दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
३- नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तरगतका निकायहरुको संगठन तथा व्यवस्थापन संरक्षण गर्न पूर्व स्वकृति दिने ।
४- राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्री धमेन्द्र झाले दिएको राजीनामा स्वकृति गर्ने ।
५- पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गते बाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय समय ९ देखि ५ बजे कायम गर्ने ।
६- डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।
७- आगामी शैक्षिक सत्र २०८३ बैसाख १५ गतेबाट सुरु गर्ने ।




