देश

कांग्रेस विवाद फेरि लम्बियो, इजलास नबन्दा सुनुवाइ स्थगित

काठमाडौं । नेपाली कांग्रेस को आधिकारिकता विवादसम्बन्धी मुद्दा फेरि अनिश्चित बनेको छ। सर्वोच्च अदालतमा आजका लागि तय गरिएको सुनुवाइ इजलास गठन हुन नसक्दा स्थगित भएको हो। निर्वाचन आयोगले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिकता दिएको निर्णयविरुद्ध शेरबहादुर देउवा समूह अदालत पुगेको थियो। सोही मुद्दामा आज पेसी तोकिए पनि सुनुवाइ अघि बढ्न सकेन।

यसअघि सर्वोच्च अदालत ले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सम्बन्धित पक्षलाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो। त्यसअनुसार निर्वाचन आयोग, कांग्रेस पार्टी कार्यालय र गगन थापा पक्षले आफ्नो जवाफ पेश गरिसकेका छन्।

विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएपछि कांग्रेसभित्र आधिकारिकताको विवाद चर्किएको हो। पूर्णबहादुर खड्का ले दायर गरेको रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न र नयाँ कार्यसमिति अवैधानिक घोषणा गर्न माग गरिएको छ। देउवा पक्षले भने नियमित महाधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गर्दै आएको छ। स्थगित हुँदै आएको यो मुद्दाले कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अझै समाधानतर्फ नलागेको संकेत गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *