राजनीति

सभामुखलाई अर्थमन्त्री वाग्लेको सन्देश-‘इतिहासका उदाहरणबाट सिकेर निष्पक्षता कायम गरौँ’

काठमाडौं । नवनिर्वाचित सभामुखप्रति अर्थमन्त्री स्वर्णिम वाग्ले ले संसद्को रोष्टमबाटै सन्तुलित र निष्पक्ष भूमिकाको आग्रह गरेका छन्। सभामुखमा डोलप्रसाद अर्याल लाई समर्थन गर्दै बोल्ने क्रममा उनले विगतका संसदीय अभ्यास सम्झाउँदै यस्तो सन्देश दिएका हुन्।

वाग्लेले ऐतिहासिक उदाहरण प्रस्तुत गर्दै कृष्णप्रसाद भट्टराई को नेतृत्वमा २०१५ सालको संसदले स्थापित गरेको मानक—‘सदन विपक्षीको, सरकार सत्तापक्षको’—आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे।

त्यस्तै, उनले २०४८ सालका सभामुख दमननाथ ढुंगाना को निष्पक्षता स्मरण गर्दै त्यसबेलाको संसदीय अभ्यासलाई उदाहरणका रूपमा प्रस्तुत गरे। तत्कालीन सांसद विरोध खतिवडा सँगको रोचक संवाद उल्लेख गर्दै उनले संसद्को जीवन्तता र मर्यादा झल्किने प्रसंग सुनाए।

वाग्लेले सुवास नेम्वाङ ले सभामुख तथा संविधानसभा अध्यक्षका रूपमा खेलेको समन्वयकारी भूमिकाको पनि प्रशंसा गरे। संक्रमणकालीन अवस्थालाई सहज अवतरण गराउन नेम्वाङको योगदान महत्वपूर्ण रहेको उनले बताए।

उनको भनाइमा, विगतका यस्ता उदाहरणहरूबाट सिक्दै वर्तमान सभामुखले पनि निष्पक्षता, संयमता र संस्थागत मर्यादालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *