काठमाडौं । नेकपा एमालेले कार्यवाहक अध्यक्ष रामबहादुर थापाले संसदमा दिएको विवादास्पद अभिव्यक्ति सच्याउँदै सम्बन्धित निकायप्रति सम्मान कायम रहेको स्पष्ट पारेको छ।
शुक्रबार बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले उक्त अभिव्यक्तिको समीक्षा गर्दै नेपाली सेना, निजामती प्रशासन तथा संवैधानिक निकायहरूप्रति पार्टीको धारणा सकारात्मक र सम्मानजनक नै रहेको उल्लेख गरेको हो।
बैठकको निर्णयमा संविधान र प्रचलित कानुनअनुसार स्थापित सबै राज्य संयन्त्र तथा अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध मित्रवत् र सुदृढ बनाइने प्रतिबद्धता दोहोर्याइएको छ।
यसअघि प्रतिनिधिसभाको बैठकमा थापाले विभिन्न संस्था तथा निकायले चुनावी परिणाममा प्रभाव पारेको दाबी गरेका थिए। सो अभिव्यक्तिप्रति पार्टीभित्रैबाट आपत्ति जनाइएको थियो।
उक्त विषयमा स्पष्टता दिँदै एमालेले सरकार, प्रधानमन्त्री बालेन्द्र शाह तथा निर्वाचन प्रक्रियामा संलग्न सबै पक्षप्रति धन्यवाद ज्ञापन गरेको छ। साथै, निर्वाचनमार्फत व्यक्त जनमतको सम्मान गर्दै विजयी जनप्रतिनिधिहरूलाई बधाईसमेत दिइएको छ।
एमालेले निर्वाचनमा सहभागी मतदाता, निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी र नागरिक समाजप्रति पनि आभार प्रकट गरेको जनाएको छ।




