अर्थ

अर्थमन्त्री वाग्लेको भन्सार कर्मचारीलाई निर्देशन :‘कडाइ होइन संवादबाट राजस्व बढाऔं’

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्योगी–व्यवसायीलाई दबाब र डर देखाएर होइन, संवाद र सहकार्यमार्फत राजस्व संकलन बढाउन निर्देशन दिएका छन्। शुक्रबार वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले लक्ष्यअनुसार राजस्व उठाउने दबाब भए पनि त्यसलाई सकारात्मक संवादबाट पूरा गर्नुपर्ने बताए।

उनले अनावश्यक धरपकड, छापा र कडाइले व्यवसायीलाई निरुत्साहित गर्ने भन्दै यस्तो अभ्यासबाट टाढा रहन आग्रह गरे। “एक वर्ष कडाइ गरेर राजस्व बढाउन सकिएला, तर दीर्घकालमा व्यवसाय नै कमजोर हुने अवस्था आउन सक्छ,” उनले स्पष्ट पारे। अर्थमन्त्री वाग्लेले भन्सार क्षेत्रमा हुने घुसखोरीसम्बन्धी गुनासाहरूलाई गम्भीरतापूर्वक लिएर त्यस्ता प्रवृत्तिको अन्त्य गर्न पनि निर्देशन दिए। उनले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र गलत काम गर्नेहरूलाई निरुत्साहित गर्ने नीति अपनाइने बताए।

त्यसैगरी, बजार अनुगमन आवश्यक भए पनि यसको दुरुपयोग हुन नदिन सतर्क रहनुपर्नेमा उनले जोड दिए। राजस्व लक्ष्य हासिल गर्न सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै मन्त्री वाग्लेले अनियमितता गर्नेहरूमाथि भने राज्य कडा रूपमा प्रस्तुत हुने चेतावनीसमेत दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *