काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। यसका लागि अर्थ मन्त्रालयले विशेष बजेट लेखन समिति गठन गर्दै तयारीलाई गति दिएको हो। राजश्व व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा बनेको समितिलाई बजेट वक्तव्यको मस्यौदा तयार गर्ने तथा बजेटका सिद्धान्त र प्राथमिकता तय गर्ने मुख्य जिम्मेवारी दिइएको छ।
समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा। सुमन दाहाल, अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा। धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल सदस्यका रूपमा रहेका छन्।
यो टोलीले आगामी वर्षका नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्ने, प्राथमिकताका आयोजना छनोटमा सहजीकरण गर्ने तथा विनियोजन विधेयकका सिद्धान्त तयार पार्ने काम गर्नेछ। साथै अर्थमन्त्रीले संसद्मा प्रस्तुत गर्ने बजेट वक्तव्यको अन्तिम मस्यौदा पनि यही समितिले तयार गर्नेछ। सरकारले समयमै बजेट निर्माण प्रक्रिया अघि बढाउँदै आगामी आर्थिक वर्षका लागि योजना र प्राथमिकता तय गर्ने कामलाई तीव्र बनाएको जनाएको छ।




