काठमाडौं । निर्माण व्यवसायीहरूको केन्द्रीय अधिवेशनका बीच एक उम्मेदवार नै पक्राउ परेपछि कार्यक्रम नै प्रभावित बनेको छ। मकवानपुरका निर्माण व्यवसायी सागर कटुवाललाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० ले नियन्त्रणमा लिएको हो। नेपाल निर्माण व्यवसायी महासंघको १३औँ अधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिन पुगेका कटुवाललाई प्रहरीले चैत १७ गते राति पक्राउ गरेको जनाएको छ। उनको उम्मेदवारीका लागि समर्थन जुटाउन गएका व्यवसायीहरू भने उनी पक्राउ परेपछि निराश हुँदै फर्किएका छन्।
सीआइबीका अनुसार सार्वजनिक खरिद प्रणाली ह्याक गरी ठूला सरकारी ठेक्काहरू कब्जा गर्ने गिरोहबारे दुई महिनादेखि अनुसन्धान भइरहेको थियो। सोही क्रममा कटुवालको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो।अनुसन्धानबाट ‘बोलपत्रडटकम’ मार्फत सञ्चालित अनलाइन टेन्डर प्रणालीमा अवैध पहुँच पुर्याई अन्य प्रतिस्पर्धीका प्रस्तावहरू हेर्ने र अन्तिम समयमा न्यून दर राखेर ठेक्का हात पार्ने समूह सक्रिय रहेको खुलेको छ।
यसअघि पनि सोही प्रकरणमा संलग्न अन्य निर्माण व्यवसायीहरूलाई सीआइबीले पक्राउ गरिसकेको छ। ठूला पूर्वाधार आयोजनाहरू, विशेषगरी खानेपानी र सडक निर्माणसम्बन्धी ठेक्कामा यस्तो अनियमितता भएको आशंका गरिएको छ।कटुवालको पक्राउसँगै यो प्रकरण थप गहिरो बन्दै गएको छ भने सरकारी ठेक्का प्रणालीको सुरक्षामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।




