काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भिड नियन्त्रणका क्रममा भएको बल प्रयोगबारे आफू प्रत्यक्ष जिम्मेवार नरहेको दाबी गरेका छन्। प्रहरीले लिएको बयानमा उनले गोली चलाउने आदेश आफ्नो तहबाट नआएको स्पष्ट पारेका हुन्। जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा रहेका ओलीसँग अनुसन्धान अधिकृतहरूले त्रिवि शिक्षण अस्पतालमै बयान लिएका थिए। सो क्रममा उनीसँग ३५ भन्दा बढी प्रश्न सोधिएको जनाइएको छ। अनुसन्धानमा संलग्न स्रोतका अनुसार ओलीले बानेश्वर घटनामा भएको गोली प्रहारको आदेश आफूले नदिएको बताएका छन्। उनका अनुसार यस्तो निर्णय सम्बन्धित जिल्ला तहबाटै हुने प्रक्रिया अन्तर्गत पर्छ।
ओलीले बयानमा आन्दोलनअघि सुरक्षा निकायसँग छलफल भएको र सो क्रममा प्रदर्शन शान्तिपूर्ण हुने जानकारी पाएको उल्लेख गरेका छन्। उनले आफूले शान्ति–सुरक्षा कायम राख्न निर्देशन दिएको तर बल प्रयोग गर्ने विषय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने जिकिर गरेका छन्। उनले प्रधानमन्त्रीको हैसियतले मानवीय क्षति न्यून गर्ने निर्देशन दिएको उल्लेख गर्दै गोली चलाउने आदेश दिने अधिकार नै प्रधानमन्त्रीसँग नहुने तर्क पनि अघि सारेका छन्।
बानेश्वरमा भएको घटनापछि बसेको मन्त्रिपरिषद् बैठकले निष्पक्ष छानबिनका लागि आयोग गठन गर्ने, घाइतेको उपचार र मृतकका परिवारलाई राहत दिने निर्णय गरेको पनि उनले बयानमा बताएका छन्।प्रहरीका अनुसार ओलीसँगको बयान प्रक्रिया बिहीबार राति सम्पन्न भएको हो र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।




