काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उम्मेदवार अघि सारेको छ। पार्टीका उपसभापति डोलप्रसाद ‘डीपी’ अर्यालले सभामुख पदका लागि मनोनयन दर्ता गराएका छन्। अर्यालको उम्मेदवारीमा पार्टी सभापति रवि लामिछाने प्रस्तावकका रूपमा रहेका छन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल समर्थकका रूपमा छन्।संघीय संसद सचिवालयले तोकेको समयसीमाअनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो। दर्ता भएका उम्मेदवारहरूको अन्तिम सूची आजै सार्वजनिक गरिनेछ।
निर्वाचन चैत २२ गतेका लागि तय गरिएको छ। सो दिन बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्ताव र समर्थनपछि उम्मेदवारमाथि छलफल गरिने र अन्ततः निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका छ।
यसअघि बसेको रास्वपा बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। प्रतिनिधि सभामा पार्टीको बलियो उपस्थितिका कारण अर्यालको जित लगभग सुनिश्चित मानिएको छ।
हाल सभामुख पद रिक्त रहेकाले प्रतिनिधि सभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले गर्दै आएका छन्।




