देश

सभामुख पदमा एमाले पनि उम्मेदवारी दिने तयारीमा,निर्णय आउने संकेत

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया अघि बढिरहेका बेला नेकपा एमालेले आफ्नो धारणा अझै खुलाएको छैन। उम्मेदवारी दिने वा नदिने विषयमा अन्तिम निर्णय लिन पार्टीले आन्तरिक छलफललाई तीव्र बनाएको छ।

सभामुख पदका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। यसअघि एमालेले विपक्षी दलहरूको कदम हेरेर मात्रै आफ्नो रणनीति तय गर्ने संकेत दिएको छ। पार्टीका सांसद ऐन महरका अनुसार यदि विपक्षी दलहरूबाट उम्मेदवारी परेमा एमालेले त्यसलाई समर्थन गर्नेछ, अन्यथा आफैं उम्मेदवार उठाउने तयारीमा छ।

एमालेले उम्मेदवारी दिने अवस्था आएमा उपाध्यक्ष गुरु बराललाई अघि सार्ने सम्भावना उच्च रहेको स्रोतहरूले जनाएका छन्। यस विषयमा पार्टी सचिवालयको बैठकले अन्तिम निर्णय गर्ने बताइएको छ।

उता, नेपाली कांग्रेसलगायतका दलहरूले भने सभामुखबारे अहिलेसम्म औपचारिक छलफल नगरेको जनाएका छन्। कांग्रेस प्रवक्ता देवराज चालिसेले उम्मेदवारीबारे कुनै निष्कर्षमा नपुगेको बताएका छन्।

यसबीच सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भने उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाइसकेको छ। संसद्को अंकगणितअनुसार अर्यालको जित सुनिश्चितजस्तै देखिए पनि एमालेको अन्तिम निर्णयले राजनीतिक समीकरणमा केही प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *